वित्तीय सेवाबाट वञ्चित व्यक्तिलाई लक्षित राष्ट्र बैङ्कको समावेशीकरण नीति

वित्तीय सेवाबाट वञ्चित व्यक्तिलाई लक्षित राष्ट्र बैङ्कको समावेशीकरण नीति

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरताको अभावमा वित्तीय पहुँचबाट वञ्चित तथा सीमित पहुँच पुगेका व्यक्ति, वर्ग, समुदाय र क्षेत्रलाई लक्षित गरेर वित्तीय शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम आयोजना गर्ने भएको छ।

वित्तीय समावेशीकरण नीति २०८१ जारी गर्दै राष्ट्र बैङ्कले जनचेतनामूलक सामग्रीहरू जस्तैःपुस्तक, डिजिटल ब्यानर, श्रव्यदृश्य सामग्री आदि निर्माण गरी रेडियो, टेलिभिजन, वेबसाइट तथा सामाजिक सञ्जालजस्ता उपयुक्त माध्यमबाट प्रसारण गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने भनिएको छ।

वैदेशिक रोजगारमा जाने नेपाली तथा तिनका परिवारलाई औपचारिक बैङ्किङ प्रणालीमार्फत विप्रेषण रकम पठाउने र प्राप्त गर्नेबारे चेतनामूलक कार्यक्रम आयोजना गर्ने बैङ्कले जनाएको छ।

वित्तीय शिक्षालाई समयसापेक्ष ढङ्गले विस्तार गर्न र प्रभावकारिता अभिवृद्धि गर्दै जान विद्यालय र कलेजस्तरको पाठ्यक्रममा बैङ्किङ वित्त, अर्थशास्त्र, उद्यमशीलता, डिजिटल वित्तीय सेवा, डिजिटल कारोबार जस्ता विषय समावेश गर्ने नीतिमा उल्लेख छ।

वित्तीय ग्राहकको संरक्षणको लागि ग्राहकको अधिकार सुनिश्चित गर्नको साथै वित्तीय कारोबारमा ग्राहकप्रतिको व्यवहार समान, निष्पक्ष, पारदर्शी र न्यायोचित हुने वातावरण तयार गर्ने बैङ्कले जारी गरेको समावेशी नीतिमा उल्लेख छ।

दिगो र समावेशी वित्तीय प्रणालीको विकासका लागि समाजका सम्पूर्ण नागरिकमा सर्वसुलभ औपचारिक वित्तीय सेवाको पहुँच पुर्‍याउन व्यक्तिगत, सामाजिक, संस्कृति, लैङ्गिक, लोपोन्मुख जातजाति फरक किसिमले सक्षम भएका आदि जुनसुकै कारणबाट औपचारिक वित्तीय सेवाबाट वञ्चित भएका व्यक्तिलाई लक्षित गरी बैङ्किङ सेवाको पहुँचमा अभिवृद्धि गर्ने नीतिमा भनिएको छ।

२०८० असार मसान्तमा वाणिज्य बैङ्कको सङ्ख्या २०, विकास बैङ्कको सङ्ख्या १७, वित्त कम्पनीको सङ्ख्या १७, लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ५७ र पूर्वाधार बैङ्क १ गरी कुल संस्था ११२ रहेको छ। भुक्तानी सेवा प्रदायक संस्थाका एजेन्ट सङ्ख्या १४ हजार १२३ रहेको छ।

नेपालमा मोबाइल बैङ्किङ ग्राहक २ करोड १३ लाख ६३ हजार ९८९ पुगेको छ। इन्टरनेट बैङ्किङ ग्राहक सङ्ख्या १८ लाख ५६ हजार १९५, डिजिटल वालेट प्रयोगकर्ता १ करोड ८९ लाख ४१ हजार ७९३ पुगेको छ।

कनेक्ट आईपिएस प्रयोगकर्ता सङ्ख्या ११ लाख ८ हजार ४३६ रहेका छन्। सबै भन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता २ करोड १३ लाख ६४ हजार रहेको छ। निक्षेप खाता सङ्ख्या ५ करोड ११ लाख ७८ हजार पुगेको र कर्जा खाता सङ्ख्या १८ लाख ४५ हजार नाघेको राष्ट्र बैंकले जनाएको छ।

डेविड कार्ड लिनेको सङ्ख्या १ करोड ८ लाख ५६ हजार ३ सय ७५ र क्रेडिट कार्ड लिनेको सङ्ख्या २ लाख ३८ हजार ७ सय ९५ पुगेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.