करिब २५ टन प्लास्टिकजन्य फोहोरमैला सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो

करिब २५ टन प्लास्टिकजन्य फोहोरमैला सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो

सिन्धुली : क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लास्टिकजन्य फोहोरमैला सङ्कलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेको छ।

शुक्रवार गोलन्जोर गाउँपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लास्टिकजन्य फोहोरमैला सङ्कलन गरी सफा गरिएको हो।

क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजनाले परिचालन गरेको युवा स्वयं सेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागीहरूले सरसफाइ अभियानमा सहभागिता जनाए।

‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एसिया) को एक प्रमुख आयोजनाको रूपमा रहेको छ भने, यूनोप्स र विश्व बैङ्कको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागु गरिएको हो।


सरसफाइ अभियानमा गोलन्जोर गाउँपालिका अध्यक्ष शङ्कर बरालले पालिकाले गर्नु पर्ने काम क्रिएशनले गरेर राम्रो काम गर्न मद्दत गरिरहेको बताए। उनले बढ्दो सहरीकरणले गोलन्जोर गाउँपालिकामा फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै क्रिएसन नेपालले सञ्चालन गरेको सरसफाइ अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको बताए। उनले भने,’गोलन्जोरमा फोहोरमैला व्यवस्थापन एक गम्भीर समस्याको रूपमा छ, झन् प्लास्टिकका बोतलहरू जताततै पाइन्छ।’ नागरिक स्तरबाटै यसलाई न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए।

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए। उनले भने, ‘हामीले प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु हुँदैन। यो प्रतिबद्धता हामी सबैलाई भित्रबाट आउनु पर्छ।’

उनले भविष्यका सन्ततिलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित चिन्तन गर्नुपर्ने बताए। ‘हामीले आज गरेको राम्रो कार्य, हाम्रो देश र हाम्रो समुदायको लागि मात्रै नभई हाम्रो भावी पुस्ताका लागि राम्रो वातावरण सुनिश्चित गर्नका लागि हो,’उनले भने,’विशाल उद्देश्यका लागि गरिएको बुझ्नुपर्छ।’

मिश्रले राजमार्ग र खोलामा प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार यस परियोजनाको एक भागका रूपमा गोलन्जोरमा नदी सरसफाइको काम सुरुवात गरेको र कम्तीमा १२ वटा नदी सरसफाइ अभियान एक साथ सँगै सञ्चालन गर्ने बताए। उनले परियोजना सञ्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै प्रमुख नदीहरूका प्लास्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाइ अभियान सञ्चालन गरिने उनले बताए।

गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्स्काभेटर र दुई वटा ट्रिपर परिचालन गरी पालिकाद्वारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरेका छन्। नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफालिने पालिकाबाट प्रतिबद्धता जनाइएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.