उपेन्द्रलाई मधेसमा मुख्यमन्त्री जोगाउन सकस

उपेन्द्रलाई मधेसमा मुख्यमन्त्री जोगाउन सकस

काठमाडौं : केन्द्र सरकारबाट आउट भएको जनता समाजवादी पार्टी नेपाललाई मधेस प्रदेश सरकार जोगाउन सकस परेको छ।

केन्द्रको सत्ता गठबन्धनले मधेसमा सरकार बनाउने सहमति गरेपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल काँग्रेस र महन्थ ठाकुरको लोसपा फकाउन लागेको छ।

आउने बुधवार विश्वासको मत लिने तयारीमा लागेका मुख्यमन्त्री सरोजकुमार यादवलाई सिके राउतको जनमत पार्टीले आच्छुआच्छु पारेको छ। जनमत एमाले र माओवादीको समर्थन लिएर मुख्यमन्त्री लिने दाउमा लागेको छ।

अशोक राईले पार्टी फुटाएपछि केन्द्र सरकारबाट यादव नेतृत्वको जसपा बाहिरिएको हो। सङ्घीय संसद्मा १२ सांसद रहेको जसपा दुई टुक्रा भएपछि यादवको पक्षमा ५ सांसद मात्रै छन्। मधेस प्रदेशमा भने राई नेतृत्वको जसपामा सांसदहरू खुलेका छैनन्।

हालका मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय नजिकिँदै जाँदा नेताहरूको दौडधुप बाक्लिँदै गएको छ। केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले मधेस प्रदेशमा जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा र काँग्रेसको संयुक्त सरकार बनाउने छलफल गरेको थियो।

काँग्रेस र लोसपाले मुख्यमन्त्रीमै दाबी गरेपछि जसपा अप्ठ्यारोमा परेको छ। परिस्थिति अनुसार जसको नेतृत्वमा सरकार बन्दा लोकतान्त्रिक गठबन्धन बचाउन सकिन्छ त्यसलाई अगाडी बढाउने काँग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादवले बताए।

केन्द्र सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टी, जसपा नेपाल नेतृत्वको मधेस सरकारमा अझै सहभागी छ। सरकारमै रहेका कारण एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने नैतिक दबाब पनि छ।

अहिले सरकारमै रहेको कारणले यो सरकारको विकल्प सोच्न नसकिने एकीकृत समाजवादी संसदीय दलका नेता एवं कृषि मन्त्री गोविन्द बहादुर न्यौपानेले बताए।

तथापि, पार्टी केन्द्रले निर्णय गर्ने र प्रदेश संसदीय दलले पनि केही दिन भित्रै विश्वासको मत दिने या सरकारबाट बाहिरिने भन्ने निर्णय गर्ने उनको भनाई छ।

मधेस प्रदेशको सरकारमा केन्द्रीय सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन आमनेसामने भएका छन्। अप्ठ्यारोमा परेको जसपा नेपाललाई भने मुख्यमन्त्री फत्किने चिन्ता देखिएको छ। सत्ता गठबन्धनबाट बाहिरिएको जसपा नेपाललाई विपक्षी गठबन्धनमा लाग्दा पनि मुख्यमन्त्री पाउने सम्भावना टर्दै गएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.