गण्डकीमा फ्लोर क्रस गरेर विश्वासको मत

गण्डकीमा फ्लोर क्रस गरेर विश्वासको मत

160
SHARES

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। सबै भन्दा ठुलो दलको हैसियतमा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री बनेका पाण्डेले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ।

प्रदेशसभा बैठकमा ५९ प्रदेशसभा सदस्य उपस्थित थिए। मुख्यमन्त्री पाण्डेलाई काँग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र माओवादीबाट चुनाव लडेका नेसपाका सांसद फणीन्द्र देवकोटाले मत दिए।

माओवादीको चुनाव चिन्हबाट चुनाव लडेर जितेका देवकोटाले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले र माओवादीका सांसदहरूले केहीबेर नाराबाजीसमेत गरेका थिए। देवकोटाको मतले मुख्यमन्त्री पाण्डेको पद जोगिएको छ। तर, उनको आफ्नै पद भने धरापमा परेको छ।

नेकपा माओवादी केन्द्रले फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद देवकोटामाथि कारबाहीको प्रक्रिया सुरु गरेको बताएको छ।

माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेको देवकोटा माओवादी संसदीय दलमा रहेको र पार्टीको ह्विप नमानेकाले कारबाही गर्ने बताए।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारत भ्रमणबाट फर्के लगत्तै गण्डकीमा फ्लोर क्रस गर्नेलाई कारबाही गरिने बताए।

तर, प्रदेश सभा सदस्य देवकोटाले भने प्रचलित कानुन र पार्टीको निर्णय अनुसार विश्वासको मत दिएकाले माओवादीले कारबाही गर्न नसक्ने तर्क गरेका छन्। उनले आफ्नो पार्टी नेसपा भएका कारण कानुनले दिएको अधिकार आफूले प्रयोग गरेको बताए।

चुनाव चिन्ह लिएकै आधारमा एकले अर्कालाई कारबाही गर्दै जाने हो भने कानुन संविधानले दिएको अधिकारमाथि प्रहार हुँदैन र? सांसद देवकोटाको प्रश्न छ।

फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटा मन्त्री बन्ने चर्चा छ। मुख्यमन्त्री पाण्डेले देवकोटालाई ऊर्जा जलस्रोत तथा खानेपानी र राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयले जिम्मेवारी दिने तयारी गरेका छन्।

दुई सांसदलाई मन्त्री नियुक्त गरी मङ्गलवार नै शपथ गराउने तयारी भएको छ। यस विषयमा पार्टीको निर्णय अनुसार अघि बढ्ने जवाफ देवकोटाले दिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.