काठमाडौँ : नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनः निर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए।
समस्या पहिचान गर्ने क्रम गएको वर्ष २०८० असोज महिनाबाट सुरु भएको हो। पानीको निकास सम्बन्धी समस्या पत्ता लागेपछि महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अवस्था हेर्न गएका थिए। बालेनको अवलोकनपछि कामले तीव्रता पायो।
वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन। यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ।
हिति पुनरुत्थान भनेर संरचना बनाएर मात्र हुने थिएन। यसका समस्या पत्ता लगाउनु थियो। हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लाग्यो। ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ।’
सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए। निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो, शाक्यले योजना सुनाए।
धाराको निकास रोकिएको विषय पुरातत्त्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्ताबेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरूको विवरण’ मा उल्लेख गरिएको छ। यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भई पानी जम्ने गर्दछ। ढुङ्गेधाराको पानीको मुहान सुकेको छ।’ सुझाव दिँदै,‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ।
यो विवरणले विगत ४० वर्षअघिदेखि पानीको निकास बन्द भएको देखाउँछ। वडा नं. १ का सचिव सर्वज्ञराज पौडेल स्थलगत अवस्था सुनाउँदै भन्छन्,‘ढुङ्गेधारा भइकन पनि विगतमा यो पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने ठाउँ थियो।’
पुरातत्त्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको उल्लेख गरिएको छैन। धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमुनाको रूपमा रहेको यो गाहिटि (ढुङ्गेधारा) को रूपमा मात्र नभई उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पुण्य स्थलका रूपमा कायम रहँदै आएको थियो’ भनिएको छ। विवरणमा धार्मिक स्थलका रूपमा कस्ता क्रियाकलाप वा संस्कार हुन्थे भन्ने चाहिँ उल्लेख छैन।
विवरणमा स्मारकको महत्वका विषयमा भनिएको छ,‘ढुङ्गेधाराका मुखलगायत चतुर्मुखी शिवलिङ्ग, चतुव्र्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्त्विक महत्त्व भएकोले धार्मिक सहअस्तित्वका दृष्टिले महत्त्वपूर्ण रहेको छ।’
हितिको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ विवरणमा उल्लेख छ। विवरणमा उल्लेख भएका क्रियाकलाप हेर्दा पनि जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ।
ढुङ्गेधाराको पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकार भन्छन्,‘धनबज्र बज्राचार्यले ढुङ्गेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दै वि. सं. ६७८ मा स्थापना भएको बताउनुभएको छ।’ हितिको पुनरुत्थानका लागि विगत प्रयासका बारेमा जानकारी दिँदै ताम्राकार भन्छन्, ‘पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो। मङ्गाल खोज्ने क्रममा एक जना व्यक्तिको मङ्गालभित्रै मृत्यु भएपछि त्यसपछि कुनै प्रयास गरिएको थिएन। अहिले काम भएको हो।’
यसपटक सफाइ गर्ने क्रममा पहिले जेट मेसिनको प्रयोग भएको थियो। यसबाट परिणाम नआएपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको, सचिवालय सदस्य शाक्यको भनाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.