"/>

‘बजेटमा मन्त्रीहरूको हाँडीघोप्टे शैली’

‘बजेटमा मन्त्रीहरूको हाँडीघोप्टे शैली’

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा सत्तारुढ दलकै सांसदहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

प्रमुख सत्ता घटक नेकपा एमालेकै सांसदहरूले बजेटलाई हाँडीघोप्टेको संज्ञा दिनेदेखि निस्तेज भएको संसद् विकास कोषलाई अघोषित रूपमा मन्त्री विकास कोषमा परिणत गरेको टिप्पणी गरेका छन्।

सांसदहरूले बजेटमा तीव्र असन्तुष्टि जनाइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार छलफल गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारीसँगै संसद्मा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला दिउँसो सिंहदरबारमा भेट भएको हो।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए। ओलीले बजेटमा देखिएको कमी हटाउन प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका छन्।

ओलीको असन्तुष्टिलाई बल पुग्ने गरी सरकारले पनि शक्ति, भक्ति र पहुँचका आधारमा बजेट विनियोजन गरेको पाइएको छ। बजेट विनियोजनमा मन्त्रीहरूले हाँडीघोप्टे शैली अपनाएको भन्दै सत्तारुढ दलकै सांसदहरूले आलोचना गरेका छन्।

संसद्मा मङ्गलवारदेखि मन्त्रालयगत रूपमा विनियोजन भएको बजेटमाथि छलफल सुरु भएको हो। प्रतिनिधि सभाको बुधवारको छलफलमा सत्तारुढ एमाले सांसद सम्झना थपलियाले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट घोप्टाएको बताइन।

मन्त्रीहरूले आफ्नो क्षेत्र तथा पार्टीका प्रभावशाली नेताहरूले सिफारिस गरेका योजनाहरूलाई प्राथमिकता दिएपछि नेताहरू अहिले विनियोजन विधेयकको फोटोकपी बोकेर जिल्ला जिल्लामा भाषण गर्न थालिसकेको सांसद थपलियाको भनाई छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले आफ्नो क्षेत्र सुनसरी जिल्ला र तीनका हरेक क्षेत्रमा बाक्लो मात्रामा बजेट खन्याए पनि अन्य क्षेत्र भने मरुभूमि जस्तै बनेको उनले उल्लेख गरिन।

सिकारु किसानले बिरुवा उत्पादन गर्न राखेको ब्याड जस्तो कतै मुठीका मुठी बिउ छर्ने त कतै एउटा पनि बिउ नपर्ने भन्दै यसरी राखेको ब्याड कहिल्यै नफस्टाउने उनले टिप्पणी गरिन।

सांसद विकास कोषमा सर्वोच्च अदालतले अङ्कुश लगाएपछि मन्त्रीहरूले चोर बाटो अपनाएको आरोप पनि लागेको छ। सांसद थपलियाले निस्तेज पारिएको संसद् विकास कोषलाई अघोषित रूपमा मन्त्री विकास कोषमा परिणत गरिएको बताइन।

सांसद शान्ति विकले संसद्मा तमासा देखाएर बजेट माथि छलफल नचलाउन सुझाव दिइन। उनले जनता माझ गाली खुवाउने काम नगर्न मन्त्रीहरूसँग अनुरोध नै गरिन।

संसद्मा विनियोजन बिद्येयकमाथिको छलफल चलिरहँदा सांसदहरू भने हाजिर गर्दै टाप कस्ने गरेका छन्। सांसदहरूले बोल्दा अधिकांश कुर्सी खाली थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.