जिल्ला न्यायाधीशको परीक्षामा मधेसी, महिला, दलित र अपाङ्गता कोटाका सबै फेल

जिल्ला न्यायाधीशको परीक्षामा मधेसी, महिला, दलित र अपाङ्गता कोटाका सबै फेल

काठमाडौं : जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले लिएको परीक्षामा १२ जना मात्रै उत्तीर्ण भएका छन्। लिखित परीक्षा दिएका २०३ जना मध्ये १२ जना मात्रै उत्तीर्ण भएका न्याय सेवा आयोगले जनाएको छ।

निकै कम मात्रामा पास भएपछि यसपटक ३१ जना चोर बाटोबाट न्यायाधीश बन्ने भएका छन्। परीक्षाको माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। तर हरेक वर्ष न्यून मात्र उम्मेदवार पास हुँदा फेल भएका योग्य जनशक्तिबाटै पुनः परिषद्ले नियुक्ति गर्ने गरेको छ।

न्याय सेवा आयोगका अनुसार ४३ जनाको कोटाका लागि परीक्षा दिएका २०३ मध्ये १२ जना मात्रै लिखित परीक्षामा पास भएका छन्। अन्य १९५ जना फेल भएका छन्।

पास हुनेमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईँ, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मणिराम ज्ञवाली हुन्। आयोगको बिहीबार बसेको बैठकले उनीहरूको नाम सार्वजनिक गर्दै असार ६ र ७ गते अन्तर्वार्ताका लागि बोलाएको छ।

आयोगले आन्तरिक खुल्लामा २१, खुल्लामा १२, महिला ४, आदिवासी जनजाति २, मधेसी २, दलित १ र अपाङ्ग १ गरी ४३ जनाको विज्ञापन गरेको थियो।

तर उक्त विज्ञापनमा आवेदन दिएका मध्ये खुल्ला ७ र आन्तरिक खुल्लामा ४ पास भए। आदिवासी जनजातीतर्फ १ जना गरी १२ जना उत्तीर्णलाई अन्तर्वार्तामा बोलाएको आयोगले नाम भने ८ जनाको मात्रै सार्वजनिक गरेको छ।  मधेसी, महिला, दलित र अपाङ्गमा एक जना पनि लिखित परीक्षामा उत्तीर्ण भएनन्। अब रिक्त पदमा न्याय परिषद्ले नियुक्ति गर्नेछ।

यस्तै सरकारी वकिल समूहतर्फका १५१ जना सरकारी वकिलहरूको सरुवा भएको छ। सरकारी वकिल समूहको प्रथम श्रेणीको ८ जना, द्धितिय श्रेणीका ५२ जना र तृतीय श्रेणीतर्फ ९१ जनाको सरुवा गर्ने निर्णय गरिएको न्याय परिषद्को सचिवालयले जनाएको छ।

अशोकराज रेग्मीलाई सहसचिव सरह सहन्यायाधिवक्तामा बढुवा गर्ने निर्णय पनि आयोगले गरेको छ। त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्न सिफारिस गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.