नेपालको ब्याटिङ सुपरफ्लप, अर्को विश्वकपका लागि छनौट खेल्नुपर्ने

नेपालको ब्याटिङ सुपरफ्लप, अर्को विश्वकपका लागि छनौट खेल्नुपर्ने

काठमाडौं : अमेरिका र वेष्टईण्डिजमा जारी टी–२० विश्वकप क्रिकेटमा दोस्रो पटक सहभागी भएको नेपाल रित्तो हात फर्कन बाध्य भएको छ।

सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागी हुँदा अफगानिस्तान र हङकङलाई पराजित गर्दै सनसनी प्रदर्शन गरेको नेपालले १० वर्षपछिको विश्वकपमा भने सम्झन लायकको प्रदर्शन गर्न सकेन।

समूह चरणका चार खेलमध्ये श्रीलङ्कासँगको खेल वर्षाले रद्द हुँदा बाँकी ३ खेलमा पराजय भोगेपछि नेपाल जितविहीन बन्न पुग्यो। नेपालले नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र बङ्गलादेशसँग हार भोगेपछि समूह चरणका कुनै पनि खेल जित्न सकेन।

नेपालको पराजयको कारण बन्यो कमजोर ब्याटिङ लाइन। बलिङ र फिल्डिङमा खोट लगाउने ठाउँ नदेखिए पनि नेपालको ब्याटिङ यस पटक सुपर फ्लप देखियो। टेस्ट राष्ट्र दक्षिण अफ्रिका विरुद्ध जितिसकेको खेल पनि कमजोर ब्याटिङकै कारण नेपालले हातबाट गुमाउन पुग्यो।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले ब्याटरहरुलाई बलर बनाउन खोज्दा विश्वकपमा नतिजा उल्टो निस्कन पुग्यो। नेपालका कुनै पनि ब्याटर यसपटक चल्न सकेनन्। आशा गरिएका कुशल मल्ल, कुशल भुर्तेल, गुल्शन झा लगायतका अनुभवी ब्याटरले पनि झुर प्रदर्शन गरे।

स्वयम् कप्तान रोहित पौडेल पनि यस पटक असफल देखिए। यसैका कारण दक्षिण अफ्रिका र बङ्गलादेशसँगको खेलमा कम लक्ष्य पनि नेपालले पुरा गर्न सकेन।

अब आउने खेलहरूमा नेपालले धैर्यता पूर्वक ब्याटिङ लाइन सम्हाल्न सक्ने गरी केही ब्याटरहरु उत्पादन गर्न सके नेपाली क्रिकेटलाई थप बल पुग्ने छ।

यही विश्वकपमा सन्दीप लामिछानेले सर्वाधिक एक सय विकेट पूरा गरेका छन्। बङ्गलादेशविरुद्ध भएको खेलमा लामिछानेले महत्त्वपूर्ण २ विकेट लिँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सय विकेट लिने विश्वको दोस्रो क्रिकेटरको कीर्तिमान बनाएका हुन्।

उनले ५४ खेलबाट सय विकेट लिएका हुन्। अफगानिस्तानका राशिद खान पहिलो नम्बरमा छन्। उनले ५३ खेलबाट सय विकेट लिएका छन्।

श्रीलङ्काका वानिन्दु हसरंगा ६३ खेलबाट सय विकेट लिएर तेस्रो स्थानमा छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने लामिछाने पहिलो नेपाली खेलाडी हुन्।

नेपाल छनौट खेल्नु पर्ने

आगामी सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीका अनुसार विश्वकपको आयोजनाको जिम्मा भारत र श्रीलङ्कालाई दिइएको हो।

२०२६ को विश्वकपमा यस वर्षको विश्वकपबाट सुपर ८ मा पुगेका अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड दक्षिण अफ्रिका, अमेरिका र वेष्टईण्डिज सहित ७ ओटा टोली सिधै छनोट भएका छन्।

आयोजकका रूपमा भारत र श्रीलङ्का तथा वरियताका आधारमा पाकिस्तान, न्युजल्याण्ड र आयरल्यान्डले पनि विश्वकपमा सोझै स्थान बनाएका हुन्। १२ ओटा टोलीले विश्वकपमा सिधै स्थान बनाउँदा नेपालसहित अन्य ८ टोलीले भने विश्वकप छनौटका खेलहरू खेल्नुपर्ने भएको छ।

टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ। विश्वकपको सुपर–८ मा समूह ‘ए’ बाट भारत र अमेरिकाले स्थान बनाएका छन् भने समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्गल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेका छन्।

समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज अन्तिम आठमा पुग्दा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्गलादेश सुपर–८ मा पुगेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.