मनसुन सक्रिय हुने सङ्केत : भारी वर्षाको सम्भावना

मनसुन सक्रिय हुने सङ्केत : भारी वर्षाको सम्भावना

काठमाडौं : कोशी प्रदेशको तराईका भूभागमा भारी वर्षा भएको छ। पछिल्लो १२ घण्टामा मोरङको लेटाङमा १ सय ६१ मिलिमिटर, झापाको कनकाईमा १ सय ४१ मिलिमिटर र सुनसरीको धरानमा १ सय २८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सामान्यतया १ सय मिलिमिटरमाथिको वर्षालाई अतिभारी वर्षा भनिन्छ भने जसले बाढीको सम्भावना बढाउने महाशाखाले जनाएको छ। अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि यी प्रदेशहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन। काठमाडौं उपत्यकाका केही स्थानमा स्थानीय र पश्चिमी वायुको प्रभावले गएराति देखिनै वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा २१ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। केही स्थानमा दिउँसो पनि कतै वर्षा त कतै भने खुल्ने सम्भावना रहेको छ। काठमाडौँमा अहिले भइरहेको वर्षाकै कारण मनसुन पूर्ण भित्रिएको भन्न नसकिने मौसमविद् मानन्धरले बताइन।

मनसुन काठमाडौं आइपुगेको चार पाँच दिन पछि मात्रै पश्चिमी क्षेत्रमा पुग्ने उनले सुनाइन। पश्चिम तराईमा भने आगामी केही दिनसम्मै तापक्रम उच्च रहने छ।

लुक्लामा उडान ठप्प

मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प भएको छ। अतिव्यस्त यो विमानस्थलमा गत जेठ २६ गतेदेखि कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा पुगेका पर्यटक मर्कामा परेका छन्।

अत्यधिक हुस्सुका कारण ‘भिजिबिलिटी’ कम हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए।

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको दाहालले बताए।

भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

यतिखेर खुम्बुमा पर्यटकयाम सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन्। यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द भएका छन्।

मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.