बाढी, पहिरो र डुबान : उद्धार गर्न हेलिकप्टरको व्यवस्था

बाढी, पहिरो र डुबान : उद्धार गर्न हेलिकप्टरको व्यवस्था

काठमाडौं : देशका पूर्वी भेगमा मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानका घटना बढेका छन्। कोशी प्रदेशको पहाडी भूभागमा बाढी तथा पहिरोले जनजीवन प्रभावित बनेको छ। कोशीकै तराईका भूभागमा डुबान हुन थालेको छ।

झापाको झापा गाउँपालिका–६ स्थित युवा टोलमा बिरिङ खोलाको पानी पस्दा ४ घर डुबानमा परेका छन्। स्थानीय दीपक आचार्य, सिता दुलाल, प्रदीप सिंह र नवीन बराइलीको घर डुबानमा पर्दा अन्यत्र स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाकै माई खोलामा आएको बाढीले झापा गाउँपालिका २ सुगाबथान टोलमा स्थानीयले ५० बिघामा लगाएको मकै खेती बगाउँदा १ करोड बराबरको क्षति भएको छ।

पछिल्लो २४ घण्टामा पाँचथरको याङबारक गाउँपालिका २ र ३ मा बाढीका कारण ३२ घर जोखिममा परेका छन्। ती घरका ५७ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका २ मा एक घर र गोठ पहिरोले पुरिएको छ। पशुचौपाया, भाडाबर्तन र खाद्यान्न पुरिँदा १२ लाख बराबरको क्षति भएको छ। घरका ४ जना सदस्यलाई भने सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङकै मेरिङदेन गाउँपालिकामा एक घर पहिरोको जोखिममा पर्दा त्यस घरका सदस्यलाई आफन्तकोमा सारिएको छ। यसअघि फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए।

बर्खा लागेसँगै बाढी पहिरोले जनधनको क्षति पुर्‍याउन थाल्दा विपदमा परेकाको उद्धार, राहतलगायतका कार्य तिनै तहको सरकारको समन्वयमा भइरहेको गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए।

बाढी, पहिरो र डुबानमा परेका नागरिकको उद्धारका लागि तालिम प्राप्त सुरक्षाकर्मी परिचालन हुनेछन् भने आवश्यकता परेमा हेलिकप्टर मार्फत पनि उद्धार गर्ने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले देशीको पूर्वी भोगमा सक्रिय मनसुन मधेस तथा बागमती प्रदेशमा फैलिएको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।

सोमबारदेखि मधेस, बागमती र गण्डकी प्रदेशमा पानी परे पनि स्थानीय वायुको प्रभावले पानी परेको बताएको महाशाखाले बुधवार मनसुन फैलिएको औपचारिक घोषणा गर्ने तयारी गरेको हो।

मौसमविद् सञ्जीव अधिकारीले अहिले अध्ययन र विश्लेषण गरिरहेकोले बुधवार मनसुन फैलावटबारे औपचारिक बुलेटिन आउने बताए। गत बुधवार नेपालको कोशी प्रदेशमा मनसुन भित्रिएको थियो। उनका अनुसार मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

राति कोशीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकासहित बागमती, मधेस, र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

वर्षाको सिजन सुरु भएसँगै राजमार्गहरू अवरुद्ध हुने क्रम सुरु भएको छ। राजमार्ग अवरुद्ध हुँदा हरेक वर्ष यात्रुले सास्ती भोग्दै आएका छन्। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका त्रिभुवन राजपथमा हरेक वर्ष वर्षातको समयमा दैनिक जसो पहिरोले सडक बन्द हुँदा यात्रुले सडकमै रात काट्न बाध्य हुनुपरेको छ।

यो वर्ष विगतको भन्दा धेरै पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। जसको असर सडकमा पनि पर्ने देखिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.