बजेटमा त्रुटि नै त्रुटि : विरोधमा च्यातियो बजेट पुस्तिका, गरे मौनधारण

बजेटमा त्रुटि नै त्रुटि : विरोधमा च्यातियो बजेट पुस्तिका, गरे मौनधारण

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा त्रुटि नै त्रुटि भेटिएको छ। काम सकिएका र डिटेल सर्वे भइसकेको आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भएको पाइएको हो।

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा पूर्वपर्यटनमन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद सुदन किराँतीले आफ्नो निर्वाचन क्षेत्रका आयोजनाबारे जानकारीसमेत नराखी भइसकेको काममा समेत बजेट विनियोजन गरिएको बताए।

एमाले सांसद गोकुल बास्कोटाले डिटेल सर्भे भइसकेको आयोजनामा अहिले सम्भाव्यता अध्ययनका लागि बजेट ल्याइएको भन्दै आपत्ति जनाए।

केपी ओली प्रधानमन्त्री हुँदा काभ्रेको बनेपा नडुबाउने योजना प्राथमिकतामा राखिए पनि अहिले बजेट कटौती गरिएको भन्दै आफ्नै पार्टीबाट सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठप्रति बास्कोटाले आक्रोश पोखे।

आगामी आर्थिक वर्षको बजेटका कारण सत्तारुढ दलहरुबीच नै वारकी पार हुने अवस्था आउने देखिएको छ। दलका मुख्य नेता, मन्त्री, प्रधानमन्त्रीको क्षेत्रमा बजेट खन्याएको र अरू क्षेत्रलाई नजरअन्दाज गरिएको भन्दै सांसदहरूले आक्रोश पोखेका छन्।

चालु आर्थिक वर्षको बजेट शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बजेट सार्वजनिक गरेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतको क्षेत्रमा मात्रै घोप्टाएको भन्दै आलोचना भएको थियो।

सत्ता र शक्तिको बलमा आफ्नो क्षेत्रमा बजेट खन्याउने पुरानै परम्परा हो। अहिलेको बजेटमा पनि आफ्नो हात जगन्नाथ गरे पछि बजेट नपाएका सांसदहरू रिसले चुर भएका छन्।

सडकदेखि सदनसम्म घाँटी सुक्ने गरी चिच्याउँदै आएको एमालेले बजेटमा चुच्चे नक्साको कुरा नउठाएपछि के निहुँ पाउँ कनिका बोकौँ भनेर बसेको प्रतिपक्षी काँग्रेसले त्यही चुच्चे नक्सामा बजेट विनियोजन नभएको भन्दै संसद्को रोष्ट्रममा मौन धारण गरेको छ।

न्वारन देखिको बल लगाउँदा पनि राजतन्त्र ल्याउन नसकेको राप्रपाले बजेट पुस्तिका च्यातेर चटक नै देखाएको छ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट मन्त्री र प्रधानमन्त्रीको पेवा जस्तो बताएका छन्।

सत्तारुढ दलकै नेताहरूको असन्तुष्टिसमेत अमरेशको भन्दा कम छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र ओलीकै पार्टीबाट सरकारमा सहभागी मन्त्रीको निर्वाचन क्षेत्रमा बजेट खन्याएको आरोप लागे पनि सिङ्गो एमाले पार्टी भने सन्तुष्ट छैन। सांसद सम्झना थपलियाले बजेटलाई हाडिघोप्टेको संज्ञा दिएकी छन्।

बजेटमा एमाले र अरू सत्ता साझेदार दलहरूको असन्तुष्टिले प्रचण्ड सरकार सङ्कटमा परेको चर्चा सुरु भएको छ। तर काँग्रेस पनि तत्काल काँध थाप्ने अवस्थामा देखिएको छैन।

चुच्चे नक्सा बनाउँदा सबैको सहमति भए पनि त्यहाँ सडक निर्माणमा भौतिक पूर्वाधार मन्त्रीले बेवास्ता गरेको भन्दै काँग्रेसका सांसद दिलेन्द्र बडूले सदनको रोष्ट्रममै मौनधारण गरे।

बजेटको असन्तुष्टि मौन धारणमा मात्रै सीमित रहेन। बजेट पुस्तिका नै च्यातेर दादागिरी देखाउने काम पनि संसद्को रोष्ट्रमबाट भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्लाको नाम नलेखेर मुख्य नेताको निर्वाचन क्षेत्रका योजनामा मात्र बजेट राखिएको भन्दै बजेट पुस्तिका नै च्यातिदिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.