निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

परिवर्तन विरोधी गतिविधिको खुलेर प्रतिवाद गर्नु : प्रधानमन्त्री

परिवर्तन विरोधी गतिविधिको खुलेर प्रतिवाद गर्नु : प्रधानमन्त्री

176
SHARES

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताएका छन्।

नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए। ‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ। तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पर्दैन।’

प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्‍याउने भन्ने सवालमा बुद्धिजीवीहरू निर्णायक हुने बताए। ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ,’उनले भने,‘हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तिकै छ।’

क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने भनेका छन्। बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको उनले बताए।

बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्‍याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे।

समाचार शेयर गर्नुहोस्
176
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.