तेस्रो लिङ्गीलाई मासिक पाँच हजार भत्ता

तेस्रो लिङ्गीलाई मासिक पाँच हजार भत्ता

काठमाडौं : तारकेश्वर नगरपालिकाले आफ्नो नगरभित्र स्थायी बसोबास गर्ने तेस्रो लिङ्गीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ। कानुन सम्मत पहिचान भएका स्थायी नगरवासी तेस्रो लिङ्गीहरूलाई प्रोत्साहन स्वरूप मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने नगरप्रमुख कृष्ण हरि महर्जनले घोषणा गरेका हुन्।

तारकेश्वर नगरपालिकाको १५ औँ नगरसभामा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख महर्जनले समाजमा तेस्रो लिङ्गी समुदाय प्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै खुलेर आउन सहज वातावरण निर्माण गर्न प्रोत्साहन स्वरूप मासिक भत्ता दिने घोषण गरिएको बताए। ‘पहिचान लुकाएर हिँड्न नपरोस् भन्ने हो,’उनले भने।

संविधानको धारा १२, १८, ३८, ४२ ले लैङ्गिक पहिचान सहितको नागरिकता, राज्यका निकायहरूमा समान सहभागिता सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूलाई विभेद नहुने र विशेष कार्यक्रमहरू ल्याउन बाधा नहुने व्यवस्था छ। संविधानले परिकल्पना गरे अनुरूप नेपालमै पहिलो पटक संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा ल्याएको तारकेश्वर नगरपालिकाले दाबी गरेको छ।

तारकेश्वर नगरपालिकाको १५ औ नगरसभामा बोल्दै बाग्मती प्रदेश सभाका सदस्य ई अमन मास्केले संविधानले परिकल्पना गरे अनुरूप तारकेश्वर नगरपालिकाले तेस्रो लिङ्गी समुदायलाई प्रोत्साहन स्वरूप भत्ता दिने व्यवस्था उदाहरणीय रहेको बताए। ‘नेपालको संविधानले परिकल्पा गरेको कुरा पनि यस्तै हो, तेस्रो लिङ्गी समुदाय भित्र गरिबी र अभाव रहेको छ,’उनले भने,’यस्तो व्यवस्थाले उनीहरूलाई थोरै भए पनि राहत पुग्नेछ।’

तारकेश्वर नगरपालिकाले गरेको घोषणा उदाहरणीय र प्रशंसनीय रहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले बताए। ‘नगरपालिकाको निर्णय निकै उदाहरणीय र प्रशंसनीय छ,’उनले भने,’यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नयाँ सन्देश दिएको छ।’

तेस्रो लिङ्गी समुदायलाई मासिक रूपमा भत्ता दिने तारकेश्वरको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सम्भवतः पहिलो नै रहेको उनले बताए। पन्तले तेस्रो लिङ्गी समुदायको हितको निम्ति आफ्नो २४ वर्षको अभियानमा यो नौलो र उदाहरणीय कार्यक्रमको रूपमा पाएको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.