‘युवाहरूमा लागूपदार्थको बढ्दो प्रयोग’

‘युवाहरूमा लागूपदार्थको बढ्दो प्रयोग’

हाम्रो नेपालमा सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि लागु पदार्थ कारोबार वा सेवन ह्वात्तै बढ्दै गएको पाइन्छ। सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा गर्ने होस् या युवाहरू ड्रग्स लिने, आनन्द मान्ने संस्कार वृद्धि हुनुले भविष्य हाँक्ने युवाहरू झन् झन् नशामा लिप्त भई रहँदा बर्सेनि हुने दिवस नारा र भाषणमै सीमित पर्नुले कता कता गिजाइरहेको अनुभूति हुन्छ।

जति मानिस जान्ने बुझ्ने हुन्छ त्यति नै उसका धेरै आवश्यकता एवं नयाँ नयाँ वस्तु जान्ने इच्छा एवं आकाङ्क्षा हुन्छ। आमाको कोखबाट नव शिशु भई यो संसारमा टेक्छ अनि बालकको शारीरिक, मानसिक विकास क्रम सँगै बाल्यकालबाट युवा अवस्थामा आएको हुन्छ, त्यसबखत नयाँ नयाँ वस्तुको प्रयोग, उपयोग गर्न खोज्छ, बुझ्छ र गर्दछ।

त्यसबेला उ यस्तो वस्तुमा फस्छ जहाँ उ सहज उम्कन सक्दैन, जसले नशा र आनन्दमा रमाउन लागूपदार्थजन्य वस्तुको प्रयोग गर्दछ।जब यसको प्रयोग गर्दछ उ त्यसबाट उम्कन सक्दैन। उसलाई लत नै बसेका कारण छोड्न गाह्रो हुने गर्दछ। जसका कारण मृत्युको मुखमा समेत पुग्दछ जून हामीले देखिरहेका,भोगिरहेका पनि छौ।

विशेष गरी कलेज स्तरका विद्यार्थीहरू साथी सङ्गतको लहै लहैमा पार्टी, डिस्को भनी बियर, रक्सी तथा अन्य प्रकारका लागूपदार्थको सेवन गर्न थाल्छन्। फिल्म तथा टी.भी.मा देखाइएको विज्ञापन हेरेर महँगा महँगा वस्तुहरूको प्रयोग युवा अवस्थामा गर्ने गर्दछन्।

गाँजा, चरेस, फोट्विन, प्रोक्सिवन, नाइट्रोसन, टिडी जेसिक, डाइजिपाम, नाइट्रोभ्याट, प्रोक्सीभोन, मर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन, नो–कफ आदि जस्ता नशालु औषधी एवं लागूपदार्थ सेवन गरिरहेका हुन्छन्। यो खालको प्रयोग ग्रामीण क्षेत्रको तुलनामा भन्दा सहरी क्षेत्रमा बढी भएको पाइन्छ। यसको अत्यधिक प्रयोगले एच.आई.भी.एड्स जस्ता खतरनाक रोगहरू पनि लाग्ने गर्दछ।

केही क्षणको आनन्दका लागी युवाहरूले आफ्नो उज्ज्वल भविष्य माथि नै खेलबाड गरिरहेका हुन्छन्, अन्ततः यसले मृत्युलाई अँगाल्छ। यो प्रयोग गर्नका लागी पैसा चाहिने वा खाँचो पर्ने हुँदा यसको ओसार पसार ठुला सहरी क्षेत्रमा बढी भएको पाइन्छ। यसलाई तुरुन्त निराकरण गर्न अति आवश्यक छ। अझ भन्नु पर्दा सबैभन्दा बढी त गाँजा, चरेस, हेरोइन, अफिम, ब्राउन सुगर, मर्फिन, कोकिन जस्ता लागूपदार्थ नेपालको सिमाना क्षेत्रमा ओसारपसार भएको पाइन्छ र त नेपाल ट्रान्जिट पोइन्ट नै बनेको भान हुन्छ।

नेपालमा लागूपदार्थ दुर्व्यसनी डेढ लाख भन्दा बढी रहेको पाइन्छ अझ यो झन् झन् बढ्दो क्रममा छ। लागू औषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत अनुमान गरिएको छ। लागूपदार्थ दुर्व्यसनी सम्बन्धी नाटक, र्‍याली गरे पनि यसको प्रयोग गर्ने भने दिन दिनै बढ्ने क्रममा छन्। कलेज स्तरका युवायुवतीहरू पढ्दै गर्दा यस्ता लतमा लागेका कारण बिचमा नै पढाइलाई ब्रेकअप गरिरहेका छन्।

एक छिनको मज्जा र रमझममा आफ्नो पढाइलाई जोखिममा मोलिरहेका छन्। हतार हतारमा नशालु पदार्थ टी.टी.जस्ता कार्य गर्दा एकले अर्काको प्रयोग गर्ने, साटासाट गर्दा त्यही सुई प्रयोग गरेका कारण एक व्यक्तिको रोग अर्को व्यक्तिमा सहज सर्ने गर्दछ र विभिन्न खालका रोगहरू लाग्ने गर्दछ। शरीरमा आलस्यता, बोलीमा अस्पष्टता, आँखा रातो हुने, बिरामी हुने लक्षणहरू पनि देखिने गर्दछ।

लागूपदार्थ दुर्व्यसनका विभिन्न कारकतत्वहरु छन्–व्यक्तिगत र अन्तरवैयक्तिक कारकहरू–(Personal and interpersonal Factors) , साथी समूहका कारकहरू?–(Peer group Factors),परिवारजन्य कारकहरू– (Family Factors), विद्यालयजन्य कारकहरू– (School Factors), समुदायजन्य कारकहरू– (Community Factors) यस्तो खालको कारकत्वले मुख्य प्रभाव पारेको हुन्छ लागूपदार्थ सेवन गर्नेमा जोड दिनका लागी।

युवाहरू एकले अर्कालाई कस्तो छ भनी अनुभवका लागी पनि यस्ता लागूपदार्थको प्रयोग गरेका हुन्छन्। किशोर किशोरीहरू भन्दछन्–‘जन्मे पछि हामीले सम्पूर्ण वस्तुको अनुभव गर्नु पर्दछ’भनी यो लतमा फस्दछन् यसमा अझ धनाढ्य परिवारका छोराछोरीहरू बढी फसेको पाइन्छ। आफ्ना बाबु आमाले हरेक इच्छा पुरा गरिदिँदा यो लतमा फस्दछन्। यो लतमा परेका व्यक्तिहरू हरबखत यसको नशा चाहिने हुँदा पैसा नभएको बेला घरका सामान चोरी गर्ने, बेचेर वा डकैती गरेर पनि आफ्नो नशा पुरा गर्न लागी परेका हुन्छन्।

यस्ता किसिमका क्रियाकलापले सामाजिक विकृति पनि बढ्दै जाने हुन्छ। बलात्कार, हिंसा, चोरी, डकैती जस्ता अनैतिक क्रियाकलाप बढी हुने हुन्छ।घरपरिवारमा झगडा हुने हुँदा मानसिक असन्तुलनका कारण लतलाई हटाउन नसकेकाले आत्महत्या जस्तो काम पनि गर्दछ।

‘असम्भव भन्ने शब्द नै हुँदैन’भनेर नेपोलियनले त्यसै भनेका छैनन्। आफूले हिम्मत राखे लागूपदार्थलाई छोड्न सकिन्छ र आफ्नो सुन्दर भविष्य बनाउन सकिन्छ। हाल लागूपदार्थ छोड्नका लागी भनेर पुनर्स्थापना केन्द्र पनि स्थापना भइराखेको छ, जसले गर्दा लागूपदार्थमा लागेका व्यक्तिलाई स्याहार, सुसार एवं परामर्श गरी उक्त लतबाट हटाउन प्रेरित गर्न यो खालका सङ्घ संस्था खोलिएका पनि छन्।

लागूपदार्थको प्रयोग समाजका समस्या हुन् जसलाई विद्यालय, कलेजका युवायूवतिहरुलाई परामर्श दिई तालिम, गोष्ठी गरी सही बाटोमा लाग्न प्रेरित गर्नु पर्दछ।बालबालिकाहरू, युवाहरूलाई दुर्व्यसनीमा लाग्नु भन्दा अगाडि नै सावधानी अपनाउनु अति उत्तम हुन्छ। साथै सरकारले पनि नशालु पदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाउनु पर्दछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.