निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी रोपाई जात्रा

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी रोपाई जात्रा

506
SHARES

काठमाडौं : नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाएका छन्। मायाको पहिचान नेपालले डाकिनी हस्पिटालिटीको सहयोगमा बौद्ध स्तुपा प्राङ्गणमा धान दिवस एवं रोपाई जात्रा मनाएको हो।

केहीले हातमा धानको रोपो लिएर त कोहीले बाउसेको भूमिका निर्वाह गरे। मानो रोपेर मुरी उब्जाउने असार महिनाको असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको छ। यो वर्षको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ राखिएको थियो।

रोपाई जात्रा नेपालको धान रोप्ने मौसमको एक जीवन्त उत्सव हो। मायाको पहिचान नेपालले वार्षिक क्यालेन्डरमा असार १५ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा महोत्सव आयोजना गर्ने यसअघि नै सार्वजनिक गरेको थियो।

असारे गीतमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले रोपाई जात्रा मनाइरहँदा हेर्ने दर्शकको भिड नै लाग्यो। कतिपय दर्शकहरू समुदायका सदस्यहरूसँग असारे गीतमा नाचे। अध्यक्ष माया गुरुङ्गले रोपो दिइन। समुदायका सदस्यहरूले असारे गीतको भाकामा ताल मिलाएर नाच प्रस्तुत गरे।

रोपाइँ जात्रा पर्व खेतीपाती, वर्षा, जीवन, समुदाय, लैङ्गिक विविधता, खाना र परम्पराको उत्सव हो। मायाको पहिचान नेपालले स्थानीय संस्कृति, परम्परा र समावेशीकरणलाई झल्काउने र प्रवर्द्धन गर्ने प्रामाणिक ढङ्गले वर्षभरि यस्तै स्थानीय चाडपर्वहरू मनाउने र कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले देशमा राम्रो खेती उत्पादन होस, वर्षा राम्रो होस्, सबैमा शुभ होस भनेर धान दिवस एवं रोपाई जात्रा मनाएको बताए।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं संविधान सभाका सभासद् सुनिलबाबु पन्तले पहिलो पटक धान दिवस एवं रोपाई जात्रा मनाउनु लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको लागि सौभाग्यको कुरा भएको बताए।

स्थानीय परम्परालाई निरन्तरता दिँदै रोपाई जात्रा मनाएको मायाको पहिचान नेपालले जनाएको छ। ‘हजारौँ वर्षदेखि छोरा मान्छेले छोरी मान्छेको लुगा लगाएर मनाउने चाडपर्व आज हामीले पनि मनाएका हौँ,’पन्तले भने,‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय हाम्रो समाजभित्रका हुन्। हामीले पनि समाजमा योगदान गर्न सक्छौ।’

समाचार शेयर गर्नुहोस्
506
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.