डमी कम्पनीमार्फत क्विन्टलका क्विन्टल सुन तस्करी

डमी कम्पनीमार्फत क्विन्टलका क्विन्टल सुन तस्करी

काठमाडौं : क्विन्टलका क्विन्टल सुन तस्करीमा उच्च पदस्थहरूको संलग्नता रहेको आशङ्का गरिए पनि अनुसन्धान प्रतिवेदनले संलग्नता नरहेको देखाएको छ।

करिब ६१ किलो सुन तस्करीमा दोस्रो चरणको अनुसन्धान सकाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हाइप्रोफाइलको संलग्नता नभेटिएको बताएको छ।

यसअघि नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेस पुन लगायतका हाई प्रोफाइल व्यक्तिको नाम समेत सुन तस्करी प्रकरणमा जोडिएको थियो। यस प्रकरणमा नभई भेप मार्फत भएको सुन प्रकरणमा उनीहरूको नाम जोडिएको सिआइबीले बताएको छ।

सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करी प्रकरणमा हाई प्रोफाइल नाम नभेटिएको बताए। उनले अनुसन्धान भने जारी रहेको बताए।

ब्रेक सुमार्फत करिब ६१ किलो सुन तस्करी प्रकरणमा थप अनुसन्धानबाट पाँच डमी कम्पनीमार्फत करिब ३२ क्विन्टल सुन तस्करी भएको खुलेको छ। पहिलो चरणको अनुसन्धानबाट २४ जनालाई पुर्पक्षको लागि थुनामा पठाइएपछि दोस्रो चरणको अनुसन्धान जारी राखेको सिआइबीले ब्रेक सु र विभिन्न इलेकट्रोनिक सामान मार्फत गरी जम्मा ३१ सय ९४ दशमलव ६६८ केजी सुन अवैध रूपमा चोरी पैठारी भएको बताएको हो।

उक्त सुनको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर रहेको छ। उक्त परिमाणको सुन पाँच वटा डमी कम्पनीमार्फत तस्करी भएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

सुन तस्करी गर्नकै लागि कम्पनी खोलिएको र पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन जस्ता सामान भित्र लुकाएर सुन तस्करी भएको एसपी बोगटीले बताए।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका थप २० जनासहित प्रहरीले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको छ। तस्करीमा संलग्न नेपाली, भारतीय र चिनियाँसमेत गरी २६ जना फरारको सूचीमा छन्।

प्रतिकको बयान सकियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा बयान सकिए पनि थुनछेक बहस भने सुरु भएको छैन।

हेर्दाहेर्दैमा राखिएको मुद्दामा थुनछेक बहस मङ्गलवार हुने अदालतका प्रवक्ता मेलिस बास्कोटाले जानकारी दिए। मङ्गलवार नै बहस सकाएर उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश जारी गर्ने तयारी अदालतको छ।

थापाले आफ्नो बुबा बादल गृहमन्त्री भएको बेलामा बिचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरूसँग मिलेर शरणार्थी प्रकरणमा रकम उठाएको प्रमाण अनुसन्धानका क्रममा भेटिएको प्रहरीले बताएको छ। उनी पक्राउ पुर्जी जारी भएको एक वर्षपछि शनिवार पक्राउ परेका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका योजनाकारका रूपमा गत वर्ष जिल्ला सरकारी वकिलको कार्यालयले थापालाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.