ओली प्रधानमन्त्री बन्ने चर्चाले प्रचण्डलाई तनाव, बालकोट पुगे महासेठ

ओली प्रधानमन्त्री बन्ने चर्चाले प्रचण्डलाई तनाव, बालकोट पुगे महासेठ

काठमाडौं : संसद्का दुई ठुला दललाई आलोपालो भिडाएर प्रधानमन्त्रीका कायम रहेका पुष्पकमल दाहाल प्रचण्डलाई यतिवेला भने तनाव भएको छ।

शनिवार राति काँग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजुसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर छलफल गरे पछि प्रचण्डलाई तनाव भएको हो।

प्रधानमन्त्री पद चिप्लिने शङ्कामा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग दुई दिनदेखि तारनतार भेटवार्ता गरेका छन्। काँग्रेसले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको चर्चासँगै प्रचण्ड ओली फकाउन लागेका हुन्।

एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई यतिवेला काँग्रेसको ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावको चर्चाले पिरोलेको छ। आफू प्रधानमन्त्रीमा कायम रहन प्रचण्ड एमालेको जुनसुकै प्रस्तावमा सहमति जनाउन तयार समेत भएका स्रोतले बताएको छ।

बजेट विनियोजनमा असन्तुष्टि जनाउँदै आएका ओलीले धितोपत्र बोर्ड अध्यक्षमा आफू अनुकूल व्यक्ति पठाउन प्रचण्ड राजी नभए पछि बार्गेनिङका लागि देउवासँग छलफल गरेको टिप्पणी समेत भएको छ। बोर्ड अध्यक्षमा प्रचण्डले आफू अनुकूल नियुक्त गर्न लागे पछि ओली चिढिएका हुन्।

सरकार फेरिने चर्चासँगै सोमबार मन्त्रिपरिषद्को बैठक बसेको छ। बैठकमा सरकार फेरिनेबारे कुराकानी नै नभएको दाबी सरकारी प्रवक्ता रेखा शर्माले गरिन। उनले सरकार फेरिनेबारे आएका समाचारहरूलाई मिडिया ट्रायल भनिन्।

शर्माले एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाएको भन्ने समाचार पनि हल्ला भएको दाबी गरिन्। तर, मन्त्रिपरिषद् बैठक लगत्तै एमालेबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ बालकोट पुगेका छन्।

सरकारकी प्रवक्ता शर्माले सरकार फेरिने हल्ला मात्रै भएको स्पष्टीकरण दिए पनि प्रधानमन्त्री प्रचण्डकै दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा एमालेले अड्को थापेको र काँग्रेसका नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिन सक्ने डरले एमाले र काँग्रेस मिलेर सरकार बनाउन सक्ने आशय व्यक्त गरेका छन्।

देउवाले प्रधानमन्त्री बन्न प्रस्ताव गरेका ओली साइत हेरेर बसेको चर्चा समेत भएको छ। संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ पुर्‍याउन काँग्रेस र एमालेको सरकार बन्न लागेको चर्चा छ। दुई दलले मन्त्रालयको भागबन्डा समेत गरिसकेको दाबी गरिएको छ।

तर, एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री बन्नेबारे कुनै छनक दिएका छैनन्। संसद् भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आफू तत्काल प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए।

काँग्रेस सभापति देउवाले पनि सोमबार आफ्नै निवासमा पदाधिकारी बैठक राखेका छन्। देउवाले पनि ओलीले जस्तै बालकोटमा भएको भनिएको सहमतिलाई गुपचुप राखेका छन्। एमालेसँग मिलेर सरकार बनाउने कुरामा देउवाले पनि इन्कार गरेका छैनन्।

ओलीसँगको भेटबारे ब्रिफिङ गरे पनि सत्ता समीकरण नै फेरिने गरी छलफल नभएको देउवाले बताएको काँग्रेस प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए।

देउवासँग ओलीको पछिल्लो भेटघाटले राजनीति तरङ्गित बनेको छ। सत्तामै रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुने कुरा हल्ला मात्रै भएको बताए।

गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताए।

टिआरसीमा कार्यदल गठन

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न सहजीकरण कार्यदल गठन गरिएको छ। गत शुक्रवार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले नमिलेका विषय मिलाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीचको सहमतिअनुसार तीनै दलले सहजीकरणका लागि एक–एक जनाको नाम दिएपछि सहजीकरण कार्यदल बनेको हो।

सहजीकरण कार्यदलमा काँग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन्। कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी साझा धारणा बनाउने भनिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.