प्रचण्डको अल्पतन्त्रलाई रास्वपाको समर्थन

प्रचण्डको अल्पतन्त्रलाई रास्वपाको समर्थन

928
SHARES

काठमाडौं : खल्तीमा राजीनामा बोकेर हिँडेको बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सरकारमा सहभागी मन्त्रीहरू अल्पमतमा पर्दा समेत कुर्सीमा टाँसिएर बसेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन बालुवाटार पुगेका मन्त्रीहरू राजीनामा नबुझाई फर्किएका रास्वपाले जानकारी दिएको छ। सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार बालुवाटार पुगेर राजीनामा बुझाउने निर्णय नगरी फर्किएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेका छन्। सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड अल्पमतमा परेका हुन्। एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएर सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीहरू भने प्रचण्डले विश्वासको मत नपाउने दिनसम्म बसिरहने भएका छन्।

सरकारमा रास्वपाका चार जना मन्त्री छन्। उपप्रधान तथा गृहमन्त्री लामिछानेले सरकारमा पार्टीतर्फबाट नेतृत्व गरेका छन्। कार्यवाहक प्रवक्ता झाका अनुसार प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनले दिएको समय सीमा भित्र विश्वासको मत लिनको लागि प्रक्रिया थाल्ने र त्यहाँसम्म साथ दिनको लागि अनुरोध गरे।

सभापति रवि लामिछानेले सदनमा विश्वासको मत लिनको लागि यथाशीघ्र मिति तय गर्न सुझाव दिए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट वर्तमान सरकारमा सहभागी मन्त्रितहरूको राजीनामाको विषयमा दलभित्र छलफल गरेर निर्णय दिने सभापति लामिछानेले जानकारी प्रधानमन्त्रीलाई दिएको झाले बताए।

महामन्त्री डा.मुकुल ढकालको प्रतिवेदनले रास्वपाभित्र पनि भाँडभैलो भएको छ। पार्टीभित्रको भाँडभैलो लुकाउन रास्वपाले बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने प्रस्ताव गरेका महामन्त्री ढकाललाई निलम्बन नै गरेको छ।

जब रविले ‘मिडियाको हेडमास्टर हुँ’ भन्दै थर्काए…

बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णयमा असहमति जनाउँदै मुखमा लगाएको मास्कमा टेप टाँसेर बैठकमा बसेका महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको पत्र थमाएको छ।

सहकारीको रकम अपचलनको आरोप लागेका रास्वपा सभापति लामिछानेलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको रिटमा बिहीबार सुनुवाइ सुरु भएको सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीश सपना प्रधान मल्ल, शारङ्गा सुवेदीको संयुक्त इजलासमा लामिछानेलाई पद मुक्त गर्न अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सुनुवाइ भइरहेको अदालत प्रशासनले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.