‘विश्वासको मत फेस गर्ने’ प्रचण्डको ब्रिफिङ

‘विश्वासको मत फेस गर्ने’ प्रचण्डको ब्रिफिङ

धानको समर्थन मूल्य तोक्ने निर्णय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मतको सामना गर्ने बताएका छन्। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्ने बताएका हुन्।

सरकारले राजीनामा नदिने र विश्वासको मतको सामना गर्न ३० दिन पनि नलाग्ने मन्त्रिपरिषद् बैठकपछि सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

विश्वासको मत लिने प्रस्ताव पेस गर्ने दिन भने टुङ्गो नलागेको उनले बताइन। ‘कुन दिन गर्ने भन्ने डिसिजन भैसकेको छैन,’प्रवक्ता शर्माले भनिन्,‘हामी सकेसम्म छिटो विश्वासको मत फेस गर्छौ।’

सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत भएपछि बिहीबार मन्त्रिपरिषद्को बैठक बसेको हो।

एमालेले बिहीबार नै दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको थियो। मन्त्रिपरिषद् बैठकले भने चीन सरकारको अनुदान सहयोगमा हिल्सा र अरनिको राजमार्गका लागि सम्भाव्यता अध्ययनका लागि प्राप्त भएका लेटर आफ एक्सचेन्जमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ।

उद्योग मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३५८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिइन।

एमाले मन्त्रीहरूको सामूहिक राजीनामा, प्रचण्ड अल्पमतमा

बिहीबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गरेका थिए। राष्ट्रपति पौडेलले राजीनामा स्वीकृत गरी कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका छन्।

कतिपयले यो बीचमा काँग्रेस र एमालेबीच भएको सहमति उल्ट्याएर सरकारमा बसिरहने रणनीति प्रचण्डले बनाएको टिप्पणी समेत गरेका छन्। तर, माओवादी केन्द्रका नेता लीलामणि पौडेलले त्यो सम्भावना नै नरहेको बताए।

नयाँ सत्ता समीकरणको सहमति गरेका काँग्रेस र एमालेले प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिइरहेका छन्। सत्ता घटकको प्रमुख दल एमालेले समर्थन फिर्ता लिई मन्त्रीहरूले समेत राजीनामा दिएको अवस्थामा प्रचण्ड सरकार स्पष्ट अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन भनेको छ।

महासचिव शङ्कर पोखरेलले विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन तथा सहयोग गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेका छन्।

काँग्रेसका महामन्त्री गगन थापाले पनि प्रचण्डलाई राजीनामा दिन आग्रह गरेका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए। उनले अहिले बनेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री प्रचण्डको आफ्नै अस्थिरत चरित्रका कारणले बनेको बताए।

नेकपा एकीकृत समाजवादीले भने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको बताएको छ। महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग महासचिव घनश्याम भुसालले आफूहरू वर्तमान सरकारबाट तत्काल फिर्ता नहुने र प्रधानमन्त्रीले विश्वासको मत लिन चाहे दिने पनि सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.