सरकारी खाता बन्द, पुँजीगत खर्च आधा मात्रै

सरकारी खाता बन्द, पुँजीगत खर्च आधा मात्रै

काठमाडौं : चालु आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च बल्ल आधा मात्रै भएको छ। महालेखा नियण्त्रकको कार्यालयका अनुसार आइतबारसम्म पुँजीगत खर्च ५०.९८ प्रतिशत मात्रै भएको छ।

३ खर्ब २० अर्ब ७४ करोड ४ लाख मध्ये १ खर्ब ५३ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

राजश्व सङ्कलन ९ खर्ब ७६ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ मात्रै भएको छ। यो वार्षिक लक्ष्यको ६८.६७ प्रतिशत हो। सरकारको खर्च भने १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख रुपैयाँ भएको छ।

राजश्व सङ्कलनले सरकारको खर्च धान्न नसकेको देखिन्छ। सरकारले राजश्व, अनुदान समेत गरी जम्मा राजश्व सङ्कलन १० खर्ब २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ गरेको छ।

सरकारले असार २४ गते (सोमबार) मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द गर्दैछ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने कार्यालयले जनाएको छ।

सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्।

सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले सोमबारसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्नेछ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ।

विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन। यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.