मनसुनी वर्षा : ७४ जनाको मृत्यु, २ हजार भन्दा बढी विस्थापित

मनसुनी वर्षा : ७४ जनाको मृत्यु, २ हजार भन्दा बढी विस्थापित

काठमाडौं : नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङमा परेर ७४ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा १, कोशीमा १८, मधेसमा ३, बागमतीमा ४, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी ७४ जनाको मृत्यु भएको हो।

विपद्मा परेर काठमाडौँ उपत्यकामा ३, कोशीमा २१, मधेसमा ५, बागमतीमा ४, गण्डकीमा २६, लुम्बिनीमा ४, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी ८८ जना घाइते भएका छन्। बाढी पहिरोमा परी कोशीमा २, बागमतीमा २ र सुदूरपश्चिम प्रदेशमा १ गरी ५ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीको कारण १६१ घर डुबानमा परेका छन्। ३३५ वटा पशु चौपाया मरेका छन्। विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढीमा परी कञ्चनपुरमा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटी र वडा नम्बर ५ की आरती बोगटी रहेका छन्। सृजना र लक्ष्मीको दिउँसो घर नजिकै डुबेर मृत्यु भएको थियो भने आरती बेपत्ता भएकी थिइन।

उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन्। चारै जना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ। दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरका अधिकांश क्षेत्र डुबानमा परेका छन्।

भारी वर्षाका कारण डुबानमा परेका कञ्चनपुरका १ हजार १ सय १२ घरधुरीका ४ हजार १सय ६५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ। डुबानमा परेका ३९ जनाको उद्धार गरिएको छ। महाकाली पारीको स्थानीय तह दोधाराचाँदनी नगरपालिकामा पनि बाढी र डुबानका कारण स्थानीयहरू प्रभावित भएका छन्।

बाढी पहिरोले अहिले देशका मुख्य राजमार्गहरू १९ ठाउँमा पूर्ण रूपमा अवरुद्ध रहेका छन्। १४ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याइएको छ। कर्णाली राजमार्ग, मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जाने बाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत –दैलेख सडकखण्ड, पूर्वपश्चिम राजमार्ग पुर्णरुपमा बन्द छन्।

शहीद राजमार्ग, रिडी–बागलुङ सडकखण्ड, स्याउलीवा–बाग्दुम्ला, चामे–बेशिसहर लगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोले अवरुद्ध सडक सशस्त्र प्रहरीले पुनः सञ्चालनमा ल्याएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.