मनसुनजन्य विपद् : ८१ जनाको मृत्यु, १६१ घर डुबानमा

मनसुनजन्य विपद् : ८१ जनाको मृत्यु, १६१ घर डुबानमा

काठमाडौं : मनसुनजन्य विपद्मा परेर ८१ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ देखि मङ्गलवारसम्म ८१ जनाको मृत्यु भएको हो।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १, कोशीमा १९, मधेसमा ३, बागमतीमा ४, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको हो।

काठमाडौँ उपत्यकामा ३, कोशीमा २३, मधेसमा ७, बागमतीमा ४, गण्डकीमा २६, लुम्बिनीमा ८, कर्णालीमा १८ र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १०० जना घाइते भएका नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

कोशीमा ४१ र गण्डकीमा १२ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परी कोशीमा २, बागमतीमा २ र सुदूरपश्चिम प्रदेशमा १ गरी ५ जना बेपत्ता छन्। बाढीबाट १६१ घर डुबानमा परेका छन्। विपद्का घटनाबाट २ हजार ७६४ परिवार विस्थापित भएका छन्।

रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाको कारण असार २४ गते राती पहिरोमा परी घाइते भएका तीन जनाको उद्धार गरिएको छ। एक जना मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरीले जनाएको छ।

सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा राती सुती रहेको अवस्थामा पहिरो गई ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाइते भएका छन् भने ७ वर्षीय सङ्गम बुढा मृत अवस्थामा फेला परेका हुन्।

घाइतेहरूको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्व, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्व पठाइएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.