प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद् फेस गर्न सकस

प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद् फेस गर्न सकस

काठमाडौं : नेपाली काँग्रेस र नेकपा एमालेलाई पालैपालो धोका दिँदै प्रधानमन्त्रीको कुर्सी जोगाउँदै आएका पुष्पकमल दाहाल प्रचण्डको सत्ताभोग समाप्त हुने दिनगन्ती सुरु भएको छ।

अल्पमतमा परे पनि विश्वासको मत फेस गर्न संसद्लाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्ड यतिवेला बेखवर बनेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयले आइतबार अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको जानकारी गराएको थियो। तर, सोमबार र मङ्गलवार प्रधानमन्त्रीको सचिवालय पनि सुनसान देखिएको छ।

संसद्मा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेको तारनतार खोजी भइरहेको छ। जनताले विपद्बाट जोगिन उद्धार र राहतको हात फैलाइरहेका छन्। तर, प्रधानमन्त्री र गृहमन्त्री भने सत्ता गुमाउँदाको पीडामा छन्।

राजीनामाको एकोहोरो रटानले प्रधानमन्त्री थला परेका टिप्पणी समेत भएको छ। एमालेसँग नयाँ सत्ता सहकार्यको सहमति गरेको काँग्रेसले राजीनामा दिनुपर्ने त्रासमा नरहन प्रधानमन्त्रीलाई भनेको छ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले माओवादीले एक महिनाभित्र विश्वासको मत लिने समय भए पनि २८ गते नै फेस गर्न लागेको बताए पछि सरकारमा बसुन्जेल संसद्प्रति उत्तरदायी हुन माग गरे।

प्रधानमन्त्री मात्रै होइन, गृहमन्त्री लामिछाने पनि संसद्बाट भागेको आरोप लागेको छ। अरूका फाइल खोल्ने घुर्की लगाउँदै आएका लामिछानेले अहिले आफ्नै फाइल खोल्ने डरले भागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले बताइन।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काँग्रेससँगको सहकार्य तोडेर बालकोट पुगेको दिन देखि नै प्रधानमन्त्री प्रचण्डको दशा सुरु भएको बताए।

एमाले सांसद दयालबहादुर शाहीले ‘सिमसिम पानी रैछैउ बेइमानी’ गीतबाट प्रचण्डलाई धोकेबाजको संज्ञा दिए।

एकीकृत समाजवादी पार्टीलाई एमालेबाट झरेका पातको संज्ञा दिँदै उनले जीवी राईको फोहोरबाट उम्रेको च्याउ राष्ट्रिय स्वतन्त्र पार्टी र माधव नेपालले प्रचण्डको कुर्सीको रक्षा गर्न नसक्ने सुनाए।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भने यसपटक धोका दिनुको कारण सोधेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.