विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती

विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती

काठमाडौं : मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषादी प्रयोग गरी पकाइएका आँप बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको पाइएको छ। आँपलाई रङ्गिन र आकर्षक देखाउन विषादी प्रयोग गर्ने गरिएको पाइएको हो।

विषादी प्रयोग गरेर पकाइएका आँप खाँदा वाकवाकी लाग्ने, जिब्रोमा बिमिरा आउने, घाँटीमा समस्या देखिने चिकित्सकले बताएका छन्। विषादी युक्त आँप खुला रूपमा बिक्री वितरण भए पनि सम्बन्धित निकाय भने बेखबर छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पष्ट नीति नहुँदा विषादी प्रयोग गर्नेलाई कानुनी दायरामा ल्याउन कठिन भएको बताएको छ।

आँपमा ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने गरिन्छ। जुन मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालको हुने चिकित्सकहरू बताउँछन्। विषादी राखेका आँप खाएमा मानव स्वास्थ्यमा समस्या आउने वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन्।

तर फलफूल व्यापारी भने आँपमा राखिएको विषादीबारे थाहा नपाएजस्तो गरिरहेका छन्। आफूहरूले विभिन्न ठाउँबाट आँप ल्याउने तर के मिसाइएको छ भन्ने थाहा नहुने काठमाडौं अनामनगरमा व्यवसाय गर्दै आएका व्यापारीले बताए।

पाल्पाका कमलराज पौडेलले स्वदेशको उत्पादन भए पनि आँपमा अत्यधिक विषादी राखेर मानव स्वास्थ्यमाथि खेलबाड भइरहेको बताए। सरकार र उपभोक्ता अधिकारवादीहरू कुन दुलामा लुकेका हुन भनेर उनले प्रश्न गरे।

अहिले आँपको सिजन छ। आँप खाने उपभोक्ताहरूले स्वास्थ्यमा समस्या देखिएको गुनासो गरेका छन्। नियमन गर्ने निकाय भने नजानेको जस्तो गरेर बसको उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए।

उपभोक्तालाई कुन आँपमा विषादी मिसिएको छ र कुनमा छैन भन्ने थाहा पाउन कठिन पर्छ। सचेत उपभोक्ताले समेत सुई लगाएर रातारात पकाइएको आँप खाइरहेका भेटिएको छ। त्यसैले अधिवक्ता लीलानाथ घिमिरे हानिकारक लागे नखान सुझाउँछन्।

सरकारले भने बजारमा अनुगमनको काम विभिन्न निकायबाट भइरहेको जनाएको छ। विषादी मिसाउनेलाई कारबाही गर्ने कुरामा कानुनमा स्पष्ट व्यवस्था नभएकाले समस्या भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताइन।

मानिसको शरीरका लागि घातक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेर काँचा फलफूल पकाउन नेपालको खाद्य ऐनले प्रतिबन्ध लगाएको छ। तर व्यवसायीले आफ्नो स्वार्थका लागि उपभोक्ताको जीवनसँग खेलबाड गरिरहँदा सरकार भने रमिते बनेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.