पार्टीमा चुकुल लगाएपछि मुकुलले गरे रविको चिरफार

पार्टीमा चुकुल लगाएपछि मुकुलले गरे रविको चिरफार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेमाथि पार्टीभित्रबाट आक्रमण सुरु भएको छ। पार्टी महामन्त्री डा.मुकुल ढकाललाई चुकुल लगाएपछि लामिछाने आक्रमणमा परेका छन्।

सञ्चारमाध्यमलाई सत्तोसराप गर्दै आएका लामिछानेलाई निलम्बित महामन्त्री ढकालले सहकारीको रकम ठगीदेखि दुई वटा पासपोर्ट लिएको आरोप लगाए। आफू लामिछानेको क्लबबाट मात्र आउट भएको दाबी गर्दै ढकालले लामिछानेमाथि पार्टी भित्र पनि स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरे।

४ मङ्सिर २०७९ को चुनावमा लोकप्रिय मत पाएको रास्वपा लामिछाने प्रकरणका कारण सकिने अवस्थामा पुगेको टिप्पणी भएको छ। अरूलाई विधि र प्रक्रिया सिकाउने लामिछाने अन्ततः आफ्नै कारण जवाफ दिन नसक्ने भएका छन्।

राजीनामा बुझाउन बालुवाटार गएको तर, प्रधानमन्त्रीले साथ दिन भने पछि नबुझाई फकिएको लामिछानेको बचपन्ना छर्लङ्ग भएको निलम्बित महामन्त्री ढकालले उल्लेख गरे। पार्टी महामन्त्रीबाट निलम्बन गरेको भोलिपल्ट बुधवार पत्रकार सम्मेलन गरेर ढकालले लामिछानेको बोली र व्यवहारको चिरफार गरिदिएका छन्।

पहिलो पटक गृहमन्त्री बन्दा लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेर कारबाही गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। नागरिकता विवादका कारण पद छोड्न बाध्य भएका लामिछाने दोस्रो पटक उही जिम्मेवारीमा पुग्दा पनि गफ मात्रै लगाइरहेको उनले बताए।

सहकारी ठगी गरेर फरार जीवी राईलाई पक्राउ गरेर ब्रेकिङ न्युज दिने भनेका लामिछाने आफैँ सरकारबाट बाहिरिएर ब्रेकिङ न्युज दिने अवस्थामा पुगेका छन्। रास्वपालाई लामिछानेले क्लबको नाममा कब्जा नै गरेको ढकालले बताए।

आर्थिक पारदर्शिताको कुरा गर्ने पार्टीभित्र आर्थिक हेर्ने जिम्मेवारी पाएका उपसभापति डोलप्रसाद अर्यालबाट अनियमितता भएको निलम्बित महामन्त्री ढकालले बताए। उनले सभापति लामिछानेलाई प्रचण्ड ओली देउवासँग तुलना गरे।

आफ्नो फाइल खुल्ने त्रासका कारण लामिछाने अरू विरुद्ध बरबराउने गरेको आरोप समेत ढकालले लगाए। लामिछानेलाई देउवा, ओली र प्रचण्डको शैली मन पर्ने भएकाले सरकारमा लिसो टाँसिए झैँ टाँसिन चाहिरहेको निलम्बित महामन्त्री ढकालले सुनाए।

सत्ता र शक्तिका कारण अरूलाई चोर औँला ठड्याउँदै आएका उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा आफैँ पर्ने देखिएको छ। सहकारी बचतकर्ताको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको र त्यसमा लामिछाने प्रत्यक्ष संलग्न रहेको पीडितहरूले दाबी गरेका छन्।

गृहमन्त्री भएकै कारण चितवन जिल्ला प्रहरी कार्यालयले उजुरीमाथि छानबिन समेत नगरेको सहकारी पीडितले गुनासो गरेका छन्। सहकारीको रकम अपचलनको आरोप लागेका लामिछानेमाथि नै छानबिन गर्न गठन भएको संसदीय समितिको बैठकमा सहकारी पीडित शालिग्राम दुवाडीले गोर्खा मिडिया नेटवर्क प्रालिको नाम आउने बित्तिकै मुद्दा किन रोकिएको? भनेर प्रश्न गरे।

ओरियन्टल सहकारी पीडित खगेन्द्रनाथ काफ्लेले सहकारी सञ्चालकहरूको सम्पत्ति सरकारले लिएर बचतकर्ताको पैसा फिर्ता गरिदिनु पर्ने बताए।

पीडितका कुरा सुनेको समितिले विदेश भागेका ठगहरू खोज्नेदेखि जेल परेका सञ्चालकहरूसँग समेत सोधपुछ गर्ने भनेको छ। सभापति सूर्य थापाले सरकारको तर्फबाट भएका लुप होलहरु पनि समितिले खोजिरहेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.