सहकारी छानबिनमा रविलाई पत्र काटेर बोलाउने तयारी

सहकारी छानबिनमा रविलाई पत्र काटेर बोलाउने तयारी

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई पत्र काटेर बोलाउने तयारी गरेको छ।

सहकारी ठगीमा मुछिएका लामिछानेलाई पत्र काटेर बोलाउने तयारी भएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन। केही सहकारीका सञ्चालकहरूलाई भने पत्र नै काटिसकिएको समिति सदस्य न्यौपानेको भनाई छ।

नेपालमा खुलेका अधिकांश सहकारी संस्थाहरू ठग्ने उद्देश्य राखेर खुलेको समितिले ठहर गरेको छ। सहकारीको खातामा एउटै व्यक्तिले स्रोत नखुलाई ४० करोड सम्मको रकम जम्मा गरे पनि सम्बन्धित सहकारी सञ्चालकलाई समेत रकम जम्मा गर्ने व्यक्तिका विषयमा कुनै पनि जानकारी नभएको पाइएको समिति सदस्य न्यौपानेले जानकारी दिइन।

अहिलेसम्म समितिले गरेको अध्ययनका क्रममा दर्जनभन्दा बढी सहकारीमा यस्तो समस्या देखिएको उनले बताइन।

सबैभन्दा बढी कृषि सहकारी नाममा दर्ता भएका र जीवी राईसँग नाम जोडिएका सहकारीहरूमा यस्तो समस्या देखिएको छ। जीवी राई हालसम्म फरार छन्। चार महिना गृह मन्त्रालयको बागडोर सम्हालेर निवर्तमान बनेका लामिछाने जीवीलाई पक्राउ नगरी बिदा भएका छन्।

३ महिनाको समयसिमा पाएको समितिले १ महिना भन्दा बढी समयसम्म छानबिन जारी राख्दा सम्बन्धित व्यक्ति, सरोकारवालाहरुसंग करिब करिब बुझ्ने क्रम सकिएको जनाएको छ।

समितिले अब फेरि एक पटक अर्थ मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लगायतसँग संयुक्त रूपमा छलफल गर्ने तयारी गरेको छ।

त्यस लगत्तै समितिले स्थलगत रूपमै सम्पूर्ण सहकारीहरूमा पुगेर खाता पल्टाउने र सम्बन्धित सहकारीका व्यक्तिहरूलाई सँगै राखेर सहकारीको रकम कहाँ देखि कहाँ सम्म फ्लो भइरहेको छ भनेर सोधपुछ गर्ने बताएको छ।

गत जेठ १५ गते एमाले सांसद सूर्य थापा सभापति रहेको सहकारी छानबिन समिति गठन भएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.