जनशक्तिलाई बेकामे नराखौँ : स्वास्थ्य मन्त्री पौडेल

जनशक्तिलाई बेकामे नराखौँ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको काममा देखिएका समस्या समाधानको खाका बनाउन निर्देशन दिएका छन्।

मन्त्री नियुक्त भएपछि पहिलो पटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको बिफ्रिङ्सहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन्।

‘सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढङ्गबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौँ, त्यसका लागि पाँच दिन भित्र लिखित रूपमा समाधानका विकल्प लिएर आउनुहोला,’मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने,’टिमवर्क गरेर समस्याको समाधान गरौँ।’

उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए। ‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ,प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,’मन्त्री पौडेलले भने।

पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने,’हामीले नतिजा कसरी दिन सक्छौँ, त्यता केन्द्रित हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामीले प्राप्त गर्न सकेका छैनौँ, आफूले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौँ।’

मन्त्री पौडेलले कानुनको छाता भन्दा बाहिर कोही नहुने समेत बताए। ‘कानुनको अम्ब्रेलाबाट कोही बाहिर हुन सक्दैन, त्यो छुट कसैलाई दिन हुँदैन, पहिले हामीले एकीकृत स्वास्थ्य ऐन बनाउन पर्छ, बृहत् रूपमा तयारी गरेर सबै कुरा पर्ने गरेर त्यसको तयारी गरौँ,’उनले भने।

पौडेलले स्वास्थ्यमा धेरै ठुलो जनशक्ति रहेकाले त्यसलाई सही ढङ्गबाट कसरी प्रयोग गर्ने भन्नेमा पनि सोच्नु पर्ने बताए। पहुँच र लिगेसीको आधारमा कुनै कुरा नहुने भन्दै उनले पद्धतिको विकास आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे। ‘कहीँ आवश्यकता भन्दा बढी जनशक्ति छ, कहीँ जनशक्ति अभाव छ भन्ने छ, नीतिगत विषय पनि सुल्झाऊ, कार्यान्वयनको पाटोलाई पनि हेरौँ, पहुँच र लिगेसीको आधारमा कुनै कुरा हुन्न,सिस्टम बनाउने हो।’

उनले जनशक्तिलाई बेकामे नबनाउने गरेर योजना बनाउन र ग्रामीण जनताको स्वास्थ्य सेवामा पहुँच छ भन्ने देखिने गरेर काम गर्न पनि मन्त्रालयका विभागीय प्रमुखहरूलाई भनेका छन्। ‘जनशक्तिलाई बेकामे नराखौँ, छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरहरूलाई ग्रामीण क्षेत्रमा पहिले सेवा गर्नुपर्ने योजना बनाऔँ, ग्रामीण क्षेत्रमा नगए सहरी क्षेत्रमा आउन सकिन्न भन्ने स्पष्ट होस, ग्रामीण क्षेत्रलाई पहिले प्राथमिकता राखौँ, त्यसलाई गाइड गर्ने गरेर नीति बनाऔँ,’मन्त्री पौडेलले भने।

उनले कुन डाक्टरको काम कहाँ हो त्यहाँ पठाउने गरेर क्याटेगोराइज गर्दा धेरै समस्याको समाधान हुने बताए। ‘जुन डाक्टरको जहाँ काम छ त्यहाँ पठाऊँ, सेवा सुविधा थप्न सकिन्छ भने त्यसमा पनि पहल गरौँ।’

मन्त्री पौडेलले मन्त्रालयले आमजनतामा रोग नै लाग्न नदिन के गर्ने भनेर समेत जनचेतनामूलक सामग्री पुर्‍याउन नसकिएको भन्दै त्यतातर्फ पनि प्राथमिकता हुनुपर्ने बताए। ‘जनतालाई रोग नै लाग्न नदिनका लागी व्यक्ति आफूले चाहिँ के गर्ने भनेर चेतना जगाउने किसिमका सूचना जानकारीहरूलाई पनि प्राथमिकतामा राखौँ,’मन्त्री पौडेले भने।

मन्त्री पौडेललाई स्वास्थ्यसचिव रोशन पोखरेलसहित विभिन्न महाशाखाका प्रमुखहरूले मन्त्रालयको विभागीय काम, जिम्मेवारी, अवस्था र कामकारबाहीका क्रममा देखिएका समस्याका बारेमा सुनाएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.