जीवीको धन्दा : घर जाँदा हेलिकप्टर, नेताको जन्मदिनमा केक

जीवीको धन्दा : घर जाँदा हेलिकप्टर, नेताको जन्मदिनमा केक

काठमाडौं : सहकारी बचतकर्ताको रकम अपचलन गरेर फरार भएका जीवी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको खुलासा भएको छ। जीवी नेताहरूको जन्मदिनमा केक बोकेर पुग्ने गरेको समेत संसदीय छानबिन समितिले पत्ता लगाएको छ।

गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष समेत रहेका राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको ​र नेताहरूको जन्मदिनमा केक बोकेर पुग्ने गरेको खुलासा भएको हो।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका​ सदस्य ​सांसद लेखनाथ दाहालले बिहीबार सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा प्रधान सम्पादक, सम्पादक र सञ्चारकर्मीसँगको छलफलका क्रममा यस्तो खुलासा गरेका हुन्। ​

सांसद दाहालले हालसम्म समितिको १८ वटा बैठक बसेकामा १३ वटा बैठक सुझाव लिनकै लागि छलफल गरिएको बताए। समस्या आएका सहकारीलाई समाधानका लागि ६ देखि ८ महिनासम्मको समय दिनुपर्ने उनले बताए।

समितिका सभापति सूर्य थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। समितिको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले समस्याग्रस्त सहकारीका विषयमा खोजी समाचार आउनुपर्नेमा जोड दिए।

समस्याग्रस्त सहकारीका विषयमा अहिलेसम्म सञ्चारमाध्यमले ल्याएका विषय महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले अझै गहिरिएर समाचार ल्याउने विषयमा सहकार्य गर्न समिति तयार रहेको बताए।

सहकारीलाई नियमन गर्ने निकायले स्वनियमन भन्दै ध्यान नदिएकैले सहकारीमा समस्या आएको समितिको १८औँ बैठकसम्मको छलफलमा सहभागीहरूले सुनाएको उल्लेख गर्दै उनले यस विषयमा स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने बताए।

समिति सदस्य ईश्वरीदेवी न्यौपानेले संविधानमा उल्लेख भएको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा रहेको सहकारी ढल्न लागेकाले यसलाई थाम्न समितिले काम गरिरहेको बताइन्।

दैनिक ज्याला, मजदुरी गरेर कमाएको पैसा सहकारीमा राखेकाहरू अहिले पीडित भएकाले यो समस्या समाधान गर्ने गरी समितिले प्रतिवेदन बुझाउने उनको भनाइ छ। सांसद सरिता भुसालले गाउँमा खोलिएका र महिलाद्वारा सञ्चालित सहकारीमा भने समस्या नभएको बताइन्।

सांसद शिशिर खनालले राजनीतिक कारणले सहकारी नियमनमा समस्या आएको उल्लेख गर्दै समितिबाट देशभरिका सहकारपीडितले पैसा फिर्ताको आशा गरेकाले त्यसै अनुरूपको नीति बनाउन सहयोग पुग्ने गरी प्रतिवेदन तयार गर्न छलफल केन्द्रित रहेको बताए।

सांसद ध्रुवबहादुर प्रधानले सहकारीसँग सरोकार भएका निकायले विगतदेखि समस्या पन्छाउँदा अहिले ठुलो रूप लिएको उल्लेख गरे। यसलाई अहिले नै समाधान गर्ने गरी अघि नबढाएपछि अझ ठुलो समस्या आउने भएकाले सरोकार भएका निकायलाई संसद्ले सचेत बनाउनुपर्ने उनले बताए।

पुराना दलको सत्तोसराप

सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने सरकारबाट बाहिरिने बित्तिकै फेरि पुराना दलको सत्तोसरापमा उत्रिएका छन्।

पुरानै पार्टी नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलसँग मिलेर दुई/दुई पटक सरकारको उपप्रधान एवं गृहमन्त्री बनेका लामिछानेले विभिन्न पदमा राजनीतिक नियुक्त हुने र भागबन्डा गर्ने नियतिका कारण देश समृद्ध बन्न नसकेको जिकिर गरे।

लामिछाने गृहमन्त्री पदमा हुँदै सहकारीको रकम अपचलन गरेको आरोप लागेको थियो। तत्कालीन प्रतिपक्षी हालको सत्तारुढ नेपाली काँग्रेसले संसद् अवरुद्ध गरेर छानबिन समिति गठनको माग गरेको थियो। उनले जीवी राईलाई आकाशमा भए पनि पातालमा भए पनि पक्राउ गरेर ब्रेकिङ न्युज दिने अभिव्यक्ति दिएका थिए।

तर, जीवी फरार नै रहेको अवस्थामा लामिछाने पदमुक्त भए। सरकारमा हुँदा भागबन्डामा लिप्त लामिछानेले आफ्नो भागमा परेका राजदूतलगायतका पदलाई भने भागबन्डा भन्न नमिल्ने समेत सुनाएका छन्।

रास्वपाले बिहीबार आयोजना गरेको नीति मन्थन अन्तरक्रियामा सभापति लामिछानेले देशलाई ‘टु पार्टी सिस्टम’मा लैजान काँग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप लगाए। काँग्रेस र एमालेले सरकार बनाउने भागबन्डा लुकेर गरे पनि अब अरू पदमा खुल्लमखुल्ला लेनदेन गर्ने टिप्पणी लामिछानेले गरे।

आफ्नो पार्टी परिस्थितिले जन्माएको भन्दै उनले सरकारमा गएपछि मात्र देश कसले चलाउने रहेछ भन्ने थाहा पाएको सुनाए। तर, देश चलाउनेको नाम भने उनले लिएनन्। उनले यसअघि संसद्मा पनि यस्तै विवादित अभिव्यक्ति दिएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.