निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विश्वासको मत पाउनेमा प्रधानमन्त्री ओली ढुक्क

विश्वासको मत पाउनेमा प्रधानमन्त्री ओली ढुक्क

122
SHARES

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्दैछन्। प्रधानमन्त्रीमा नियुक्त भएको आठौँ दिनमा प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव पेस गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

नेपाली काँग्रेस र नेकपा एमालेले १७ असारमा गरेको सहमति अनुसार २८ असारमा प्रधानमन्त्रीमा दाबी पेस गरेका एमाले अध्यक्ष ओली ३० असारमा नियुक्त भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलबाट ३१ असारमा पद तथा गोपनीयताको शपथ लिएका ओलीले संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत लिन लागेका हुन्।

काँग्रेसको ८८, एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत प्रधानमन्त्री ओलीको पक्षमा आउने अङ्कगणित छ।

नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने भनेका छन्। संसद्मा हाल कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ। विश्वासको मत पाउनेमा प्रधानमन्त्री ओली ढुक्क देखिएका छन्।

अनुमान गर्न नसक्दा प्रचण्डले गुमाए सत्ता

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मतका लागि पेस गर्ने प्रस्तावमा संसद्मा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्रबाट एक-एक जना प्रतिनिधिले आफ्ना धारणा राख्नेछन्।

प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेस गर्ने दिनसम्म काँग्रेस र एमालेबीच भएको भनिएको ७ बुँदे सहमति भने सार्वजनिक गरिएको छैन। आइतबार नै प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दैछन्। सम्बोधनका क्रममा सहमति पत्र सार्वजनिक गर्नुपर्ने काँग्रेस महामन्त्री गगन थापाले माग गरेका छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिएसँगै सहमति सार्वजनिक गर्ने तयारी भएको एमाले नेताहरूले बताएका छन्। चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सुरुको दुई वर्ष सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको भनिएको छ।

समाचार शेयर गर्नुहोस्
122
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.