प्रधानमन्त्री ओलीले थर्काए पछि उठे वर्षमान

प्रधानमन्त्री ओलीले थर्काए पछि उठे वर्षमान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभाबी नबोल्न सांसदहरूलाई सचेत गराएका छन्। झुटको सहारा नलिन उनले आग्रह गरे। सांसदहरूलाई सम्झाए प्रधानमन्त्री ओलीले। विद्युत् महसुलबारे माओवादी सांसद लेखनाथ दाहालले झुट बोलेको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपर्ने बताए।

‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन। कुनै बेठिक खालका सेटिङ र कुनै तन्त्रहरूका पछाडि कुद्नु पनि छैन,’प्रधानमन्त्री ओलीले,’मैले देशको हितको पक्षमा, जनताको हितको पक्षमा ६० वर्ष लगभग समर्पण गरेको छु,बाँकी जीवन पनि समर्पण गर्छु स्वच्छताका साथ।’

उनले तिर्नुपर्ने र नपर्ने छुट्टाउँछु भनेर बोलेको कुरा संसद्को रेकर्डमा रहेको उल्लेख गरे। ‘हामी गरिमामय संसद्मा छौ, हामी जनताले छानेर पठाएका जनप्रतिनिधिले त्यस हैसियतमा बोल्नुपर्छ,कहिले सुन होइन पित्तल चढायो भनेको छ,फोटाहरू छपाएको छ,अनेक गरेको छ,’उनले भने,’यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन,सत्य कुरा बोल्न सक्नुपर्छ।’

उनले भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको लाञ्छना लगाउन काम नगर्न आग्रह गरे। ‘हामी कुनै खेलबाड, गालमुखाल गर्न यहाँ आएका होइनौ,देश र जनताप्रति साँच्चैको जिम्मेवारी बोध गरेर आएका हौँ,अवस्थामा परिवर्तन ल्याउने सङ्कल्पका साथ यहाँ आएका हौँ,’प्रधानमन्त्री ओलीले भने,’प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुनसक्छ,कसैलाई मर्का पनि परेको हुनसक्छ,यो त दलीय व्यवस्था हो,त्यो राजनीतिक हिसाबले नै अगाडि बढाऔँ, हामी कुनै आवेश उत्तेजनामा छैनौ, कुनै आग्रह पूर्वाग्रहमा हामी छैनौ, कुनै प्रतिशोधको राजनीति हामी उचित नै ठान्दैनौ।’

उनले झुटा लाञ्छना लगातार लगाउनेप्रति जबाफदेही हुनु पर्ने बताए। ‘मेरो निवेदन गरिमामय सदन सदन जस्तै होस,हामीले सदनको मर्यादा, गरिमा यहाँ भएका छलफल, यहाँ उठाएका विषय, यहाँ उठेका प्रश्न, यति हल्काफुल्का झुटा पूर्वाग्रहीपूर्ण हुनुहुँदैन,’उनले भने,’सुन भनेर पित्तल चढायो भन्ने जस्ता हावादारी कुरा यस गरिमामय संसद्मा नबोलियोस्।’

उनले संसद्लाई हल्काफुल्का बनाउन नहुने बताए। माओवादी सांसद दाहालले बिचौलियाको योजनामा विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् उपभोग गरेबापत तिर्नुपर्ने विद्युत्को बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेको लाइन जोड्न र बक्यौता मिनाहा गर्न प्रधानमन्त्री ओलीले दबाब दिएको आरोप लगाएका थिए।

प्रधानमन्त्री ओलीले दाहालको नाम उल्लेख नगरी गरिमामय संसद्मा बोल्दा भएका, सही र तथ्ययुक्त कुरा मात्र बोल्न र जथाभाबी नबोल्न भनेका हुन्। ओली थप अगाडि बढ्दै गर्दा पुनले नियमापत्ति रहेको बताएपछि सभामुख घिमिरेले प्रधानमन्त्री ओलीलाई एकछिन रोकेर पुनलाई बोल्न दिए।

पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा ओलीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाए। ‘प्रधानमन्त्री के सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ? सभामुखले रुलिङ गर्नुपर्छ होला। प्रश्नोत्तरमा हुनुहुन्छ। आफ्ना कार्यकर्तालाई गाली गर्न आएको हो कि?’पुनले भने,’जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने?’

पुनले थप बोल्न खोज्दै गरेका बेला सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र आफूले त्यतै लान खोजेको भन्दै प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देश गरे।

प्रधानमन्त्री ओलीले आफू विल्कुल विषय केन्द्रित भएको बताए। ‘विल्कुल विषय केन्द्रित छु,संसद्मा उठेका प्रश्नहरूको लिखित जवाफ दिनुपर्ने, त्यो भन्दा अगाडि नै अलिखित नै बाटैमा आइपुग्यो,’उनले भने,’त्यसकारण यसो नगरौँ भन्ने मात्र मेरो आग्रह हो,मैले गाली गलौच कसैलाई गरेको छैन, मैले सचेत गराएको हो, आवेश उत्तेजनामा आउनु पर्ने आवश्यकता छैन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.