एचसीसीएनको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्द्धन उच्च प्राथमिकतामा

एचसीसीएनको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्द्धन उच्च प्राथमिकतामा

काठमाडौं : नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)ले मङ्गलवार १७ औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ।

साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ। हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ।

कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन। आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ।

एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदुतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवर्धन गर्ने लगायत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान दिँदै आएको बताए।

नेपाली विद्यार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्ति देखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउन समेत वाणिज्यदुतहरुले भूमिका खेलेको उनले बताए।

औपचारिक रूपमा सन् २००७ मा स्थापना भएको यो संस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उनले जानकारी दिए। उनले एचसीसीएनले जेठको दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयको अन्तर्राष्ट्रिय कन्क्लेभको आयोजना गरेको र सो कार्यक्रममा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधिहरू सहभागी रहेको बताए।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्त्वपूर्ण योगदान गरेको उनको भनाई थियो।

एचसीसीएनका नवनियुक्त डिन ढकालले एचसीसीएनले आर्थिक तथा सांस्कृतिक रूपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए। उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कूटनीति मार्फत नयाँ अवसरलाई आत्मसाथ गर्न एचसीसीएन सधैँ तयार रहेको बताए।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्बद्ध यसअघिका कानुन तथा नीतिहरूलाई सुधार गरेर लगानी मैत्री पारेको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए।

उक्त कार्यक्रममा परराष्ट्र मन्त्री राणाले एचसीसीएनको आधिकारिक वेबसाइट सार्वजनिक गरिन। वेबसाइटमा नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतको कार्यालय सम्बन्धी जानकारी, संस्थाले विगत र हाल गरेका गतिविधि लगायतका सूचनाहरू राखिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.