बागमतीमा १३ मन्त्रालयमा १४ मन्त्री, एकजना अझै विनाविभागिय

बागमतीमा १३ मन्त्रालयमा १४ मन्त्री, एकजना अझै विनाविभागिय

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन्। नेपाली काँग्रेसबाट चार मन्त्री थपेर मुख्यमन्त्री लामाले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरे। काँग्रेसमा मन्त्रीका आकाङ्क्षी व्यवस्थापन गर्न फेरी मन्त्रालय बढाउने गरी उनले मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्।

मुख्यमन्त्री लामाले हरि प्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए।

उनीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। योसँगै बागमती सरकारमा काँग्रेस र एमालेबाट एक/एक जना गरी दुई महिलामन्त्री बनेका छन्। यसअघि नियुक्त काँग्रेसका अरू मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छन्।

कुन्दनराज काफ्लेले आर्थिक, मामिला तथा योजना मन्त्रालय पाउँदा श्याम खड्काले खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाए। काँग्रेसका अर्का सांसद मधुकुमार श्रेष्ठ विनाविभागीय मन्त्रीको रूपमा शपथ लिए। काँग्रेसमा मन्त्रीका आकाङ्क्षी व्यवस्थापन गर्न नसक्दा अब एक मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने छ।

कोशीमा भागबन्डा मिल्यो

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आइतबार सरकार विस्तारको तयारी गरेका छन्। सत्ता घटक नेपाली काँग्रेस र नेकपा एमालेबीच बराबर मन्त्रालय लिने सहमति भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराउने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन्।

कोशी सरकारमा मुख्यमन्त्रीसहित एमालेका ५ र काँग्रेसका ४ जना रहने सहमति बनेको छ। मुख्यमन्त्रीलाई दिएको समर्थन कायम नै राखेर माओवादी केन्द्रले सरकार छाडेपछि काँग्रेस र एमालेले सहकार्यको सहमति गरेका हुन्।

छलफलमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने काँग्रेसको प्रस्तावमा छलफल भए पनि सहमति हुन सकेन। आलो पालो सरकार चलाउनेबारे केन्द्रको निर्णय अनुसार अगाडी बढ्ने एमाले कोशी संसदीय दलका नेता रेवती रमण भण्डारीले बताए।

काँग्रेस र एमालेबीच संसदीय समितिको नेतृत्वमा पनि भागबन्डा भएको छ। प्रदेशमा सात वटा विषयगत समितिमध्ये एउटा समिति प्रतिपक्षी दललाई छाडेर बाँकी ३–३ वटा बाँडफाँड गर्ने सहमति बनेको नेताहरूले बताए।

मन्त्री हटाउन माग

केही दिनअघि लुम्बिनी सरकारमा मन्त्री बनेका बादशाह कुर्मीलाई भने पदबाट हटाउनुपर्ने माग उठेको छ। बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता घटनाका आरोपी कुर्मीलाई मन्त्री पदबाट हटाउन चिकित्सा क्षेत्रका अभियन्ता डा.गोविन्द केसीले माग गरेका हुन्।

कुर्मीलाई प्रदेशको मन्त्रीबाट नहटाए काँग्रेसले अफताव आलमजस्ता अपराधीहरूको संरक्षण गरेबापत कमाएको बदनामी झनै चुलिएर जाने केसीको दाबी छ।

उनले सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्ग्याउने क्रममा पीडितलाई न्यायबाट वञ्चित गर्ने तथा दुवै पक्षका अपराधीहरूलाई उन्मुक्ति दिने खतरा रहेको पनि उल्लेख गरेका छन्।

बीएण्डसी मेडिकल कलेजसम्बन्धी मुद्दामा गम्भीर न्यायिक विचलनयुक्त फैसला दिएको भन्दै न्यायाधीश डा. कुमार चुडालमाथि महाभियोग लगाउन केसीले माग गरे। आफ्ना माग पूरा नभए जुनसुकै बेला अनशन बस्ने चेतावनी डाक्टर केसीले दिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.