विदेश भागेका जीवीसहितका सहकारी ठगलाई झिकाउन निर्देशन

विदेश भागेका जीवीसहितका सहकारी ठगलाई झिकाउन निर्देशन

काठमाडौं : सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न जीवी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो।

सूर्यदर्शनका ज्ञानबहादुर बमजन, थानबहादुर राई, भूपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अलि, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ।

सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनकी श्रीमती माझमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

शिवशिखरका तेजबहादुर बमजन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दीपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशङ्कर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ।

सभापति थापाले अमेरिका, बेलायत, मलेसिया, भारत र कतिको स्थिति अज्ञात रहेको हुनाले उनीहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सहभागी गराउन गृहमन्त्रीलाई आग्रह गरिएको बताए।

समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय पनि गरेको छ। त्यसको सूची गृहमन्त्री रमेश लेखकलाई दिएको भन्दै सभापति थापाले कारागारमा भएकाहरूसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध गर्न आग्रह गरिएको बताए।

राष्ट्रिय सहकारी बैङ्क अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीसहित ९ जान विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उप्रेतीसहित ९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

उप्रेती आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन्। उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे र सदस्य बद्री महत समेतलाई अभियोगपत्रमा प्रतिवादी बनाइएको छ।

त्यस्तै हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाललाई पनि प्रतिवादी बनाइएको छ।

मर्जरपछिको संस्थाका सदस्य भएका प्रकाशमान शाही खड्गीलाई समेत अभियोगपत्रमा प्रतिवादी बनाइएको छ। अभियोगपत्रमा १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी भएको दाबी गरिएको छ। प्रतिवादीमध्ये केबी उप्रेती मात्रै पक्राउ परेका छन् भने अन्य अभियुक्त फरार छन्।

रविको आक्रोश

सहकारीको रकम अपचलनको आरोप लाग्दै गर्दा सत्ताबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सहकारी बन्धुको फाइल बन्द नगर्न भनेका छन्।

सहकारी बन्धुको आरोप खेपेर गृहमन्त्रालयबाट बाहिरिनु परेको आक्रोश पोखेका रास्वपा सभापति लामिछानेले स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गर्न चुनौती दिए।

चार महिना गृहमन्त्रालयको बागडोर सम्हालेका लामिछानेले काँग्रेस र एमालेको मिलन हुनु नै खतराको घण्टी बनेको टिप्पणी पनि गरे। प्रतिनिधिसभाको बैठकमा उनले विभिन्न कालखण्डका भ्रष्टाचारका फाइलहरू खोल्ने काम गर्दा सत्तारुढ दलहरू अत्तालिएर अपजस लगाएको बताए।

लामिछानेले संचारउद्यमी कैलाश सिरोहियाका बारेमा काँग्रेसले अनर्गल प्रचार गरिरहेको आरोप समेत लगाए। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद्लाई गुमराहमा राख्ने अभिव्यक्ति दिएको लामिछानेको भनाई थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.