कानुन कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिको अधिकार हनन

कानुन कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिको अधिकार हनन

भक्तपुर : अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन्। नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाद्वारा ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ’ अन्तर्क्रियाका सहभागीले अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रवाहमा सरकारले ध्यान दिनुपर्ने बताए।

सञ्चारकर्मी एवं अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य लगायत अन्य अधिकारको पहुँच पुर्‍याउन सञ्चार माध्यमले त्यस सम्बन्धी विषय उठान गर्नुपर्ने सुझाए।

कार्यक्रममा सङ्घ उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले सङ्घले स्थापनाकालदेखि हालसम्म परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अन्य विभिन्न स्वास्थ्यका क्षेत्रमा सञ्चालन गरेको कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिँदै सङ्घले अपाङ्गतामैत्री सेवा प्रवाह गरिरहेको र अन्य स्वास्थ्य निकायमा पनि यस्तो व्यवस्था हुनुपर्ने औँल्याए।

उनले सङ्घले गत वर्ष चार हजार तीन सय नौ जना अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिएको जनाउँदै सङ्घमा आउने दातृ निकायको कार्यक्रम कटौती र सरकारबाट बजेट व्यवस्थापन नहुँदा दिँदै आएको सेवा प्रभावित हुँदै कर्मचारीसमेत कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताए।

‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पहुँच स्थानीय स्तरमै पुर्‍याउन सङ्घ लागिरहेको छ।केही पालिकामा कार्यक्रम सञ्चालन गरेको र यसको प्रभावकारिता समेत बढेको छ,’उनले भने,‘सङ्घमा परेको आर्थिक सङ्कटले अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग र आर्थिक रूपमा विपन्न वर्गले नै स्वास्थ्य सेवा नपाउने अवस्था आउने चुनौती थपिएको छ। यसलाई अन्त्य गर्न राज्यले गम्भीर रूपमा लिनुपर्छ।’

शाखा प्रबन्धक अर्यालले परिवार नियोजन सङ्घले सन् २०१९ देखि अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतनात्मक कार्यक्रमका विविध प्रकारका अपाङ्गता भएका व्यक्तिलाई नै पियर एजुकेटर (साथी शिक्षक)को तालिम दिएर समुदायमा परिचालन गर्दा यसले निकै सकारात्मक प्रभाव पारेको र अपाङ्गता भएका व्यक्तिको जीवनमा नयाँ ऊर्जा थपेको जानकारी दिए।

अपाङ्गता भएका सबै व्यक्तिलाई अन्य व्यक्तिसरह सबै चाहनाको साथै यौन चाहना हुने तर परिवारका सदस्यलाई खुलेर भन्न नसक्ने, उनीहरूको विवाह र सन्तान जन्माउने अधिकार र चाहनालाई मार्नुपर्ने तथा उनीहरूको यौन रोग वा विविध समस्याको सामना गर्नुपरेको अवस्थामा सङ्घले विभिन्न पालिकामा सञ्चालन गरेको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको अधिकार स्थापित गर्न सहज हुँदै गएको उनले बताए।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अध्येता अनुप अधिकारीले नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरी संविधान एवं कानुनमा गरिएको व्यवस्था कार्यान्वयनमा नआउँदा अपाङ्गता भएका व्यक्तिको अधिकार हनन भइरहेको टिप्पणी गरे।

उनले कतिपय अपाङ्गता भएका व्यक्तिको जीवन निकै कष्टकर बनेको उदाहरण प्रस्तुत गर्दै उनीहरूको अधिकारलाई सुनिश्चित गर्न देशका तीन वटै सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकामा सचेतना तालिम दिँदै आएकी अम्बिका कुइँकेलले समाज र परिवारमा अपाङ्गता भएका व्यक्तिले विवाह गर्न नहुने, सन्तान जन्माउन नहुनेजस्ता सोचले समस्या परेको जनाउँदै अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्नुपर्ने बताइन।

अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई सचेतना तालिम दिँदै आएकी सन्जिया श्रेष्ठले अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई महिनावारी स्वच्छता, सरसफाइ, माया प्रेम, विवाह, सन्तान जन्माउने चाहनालाई वञ्चित गर्न नहुने बारेमा शिक्षा प्रदान गर्दै परिवार नियोजनका साधनको प्रयोगका बारेमा जानकारी गरी त्यस क्षेत्रका व्यक्तिहरू लाभान्वित भएको बताइन।

कार्यक्रममा सिबिआर भक्तपुरमा कार्यरत गङ्गा प्रजापति, सुनिता दुवाललगायतले अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे बुझाउन थालेपछि समुदायमा परिवर्तन आएको जनाउँदै समस्या र चुनौतीहरू भने धेरै रहेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.