जापानमा रोजगारीको नयाँ अवसर : अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परीक्षा

जापानमा रोजगारीको नयाँ अवसर : अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परीक्षा

काठमाडौं : नेपाली श्रमिक जापानमा नयाँ क्षेत्रमा रोजगारीका लागि जान पाउने भएका छन्। अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो।

नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैँ अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जान सक्ने भएका हुन्।

यसका लागि जापानको भवन मर्मत सङ्घ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रवार छलफल गरेका छन्।

नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जान पाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए। जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएर समेत अवसर सिर्जना गर्न सक्ने र प्राप्त गर्न सक्ने उनले बताए।

कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा?

नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ। एक महिनापछि त्यसको नतिजा आउने र पास भएका मध्येले जापान काम गर्न जान पाउनेछन्।

जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। परीक्षा दिन १७ वर्ष वा सो भन्दामाथि उमेर पुगेको हुनुपर्नेछ। जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ। अन्य शैक्षिक योग्यता भने चाहिँदैन।

सिप परीक्षा के हुन्छ?

पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परीक्षा हुनेछ। पेपर टेस्ट अर्थात् कागजी परीक्षामा तस्बिर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ।

कार्य परीक्षणमा भुँइ सफाइ, सिसाको सफाइ र पश्चिमी शैलीका शौचालयको सफाइ हुनेछ। यी दुवै परीक्षा वा परीक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास भएको मानिनेछ।

यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ। अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ।

कति जना जान पाउँछन्?

जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ।

ती कम्पनीहरूमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टी (एभिलतथ)ले गर्नेछ। नेपालमा काठमाडौँको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए।

प्लेन्टी नेपाल (एभिलतथ) मार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थापन गर्नेछ। अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ।

काम कस्तो हुन्छ?

जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ।

खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ। ठुला भवनको सफाइ भएका कारण घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.