प्रधानमन्त्री ओलीलाई भुटानी शरणार्थीको पत्र, स्वदेश फिर्तीका लागि पहल गरिदिनु

प्रधानमन्त्री ओलीलाई भुटानी शरणार्थीको पत्र, स्वदेश फिर्तीका लागि पहल गरिदिनु

काठमाडौं : भुटानी शरणार्थीहरूले स्वैच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएका छन्।

‘सम्मानजनक स्वदेश फिर्ती’को विकल्प अगाडी बढाउन आवश्यक पर्ने वार्ता, छलफल, नीति निर्णय र निर्देशन जस्ता अत्यावश्यक ठोस पहल गर्न शरणार्थीहरूले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र पठाएका हुन्।

उनीहरूले स्वदेश फिर्ती हुन पाउनु पर्ने अधिकार सुनिश्चित गरिदिन हुन अनुरोध पनि गरेका छन्। भुटानी शरणार्थी समस्या समाधानका लागि १५ औँ चरणसम्म भएका वार्ता निष्कर्षविहीन भएपछि स्वदेश फिर्तीलाई बेवास्ता गरिएको गुनासो शरणार्थीहरूले गरेका छन्।

भुटान स्वतन्त्र जनमञ्चका महासचिव धन वीर सुब्बा र राष्ट्रिय मेलमिलाप समिति भुटानका संयोजक कृष्ण वीर तामाङले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र पठाएर स्वदेश फिर्ती हुन पाउनु पर्ने अधिकार सुनिश्चित गरी दिन अनुरोध गरेका छन्।

स्वदेश फिर्तीलाई बेवास्ता गरी तेस्रो देश पुनर्वासलाई मात्र प्राथमिकता दिएर भुटानी शरणार्थी समस्या समाधान भएको जस्तो बुझाई रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

भुटानी शरणार्थी शिविर बेलडाँगी झापा र पथरी शनिश्चरे मोरङमा खाद्यान्न, स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत सुविधाहरू कटौती हुँदा पनि आफ्नै देश फर्कन पाउने आशामा लगभग ६५०० (छ हजार पाँच सय) भुटानी शरणार्थीहरू विभिन्न समस्याहरूसँग जुझ्दै जीवन गुजारा गरिरहेका पत्रमा उल्लेख छ।

पत्रमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायत ८ वटा मुलुकहरूमा ११३५०० (एक लाख तेह्र हजार पाँच सय) भुटानी शरणार्थीहरूको पुर्नवास गराइसकिएको उल्लेख छ। उनीहरूले शिविरको नाम बस्ती बनाएर आफूहरूको पहिचान मेटाउने प्रयास नगर्न पनि भनेका छन्।

प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षण पत्रमा भुटानी शरणार्थीहरूको शिविरको नाम परिवर्तन गरी बस्ती व्यवस्थापन समिति राख्नाले पहिचान हराउँदै जाने चिन्ताले सताइरहेको उल्लेख गरिएको छ। उनीहरूले नामकरण यथावत् राख्न भनेका छन्।

पत्रमा लेखिएको छ,’विगत ३२ औँ वर्षादेखि भुटानी निरङ्कुश सरकारको उत्पीडन र दमनमा परि लखेटिएका भुटानी नागरिकहरूलाई यहाँहरूकै पहलमा झापा र मोरङ जिल्लामा आश्रय प्रदान गरी यस समस्यालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गराई संयुक्त राष्ट्रसङ्घको युएनएचसीआर, डब्लुएफपी, डब्लुएचओ लगायतका सङ्घ संस्थाको सहयोगमा नेपाल सरकारको प्रत्यक्ष नीति निर्देशनमा हामीलाई खाद्यान्न, स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत आवश्यकताका कुराहरू पुरा गरी आइरहेकै अवस्थामा स्वदेश फिर्ती गरी समस्या समाधानार्थ १५औँ चरणसम्म नेपाल सरकार र भुटान सरकारबीच भएका वार्ताले ठोस निष्कर्ष निकाल्न नसकी वार्ता अवरुद्ध भएपछि भुटानी शरणार्थी समस्या समाधानका विकल्पहरू मध्ये स्वदेश फिर्तीलाई बेवास्ता गरी तेस्रो देश पुनर्वासलाई मात्र प्राथमिकता दिई अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायत ८ वटा मुलुकहरूमा लगभग १,१३,५०० (एक लाख तेह्र हजार पाँच सय) भुटानी शरणार्थीहरूको पुनर्वास गराई सकिएको र भुटानी शरणार्थी समस्या समाधान भएको जस्तो बुझाई रहेको तर सम्मानजनक रूपले स्वदेश फर्कन चाहने शरणार्थीहरूको समस्या समाधान भई नसकेको तर्फ सम्माननीय प्रधानमन्त्री ज्यूलाई यस अगाडी समेत पटक पटक निवेदन गरेको कुरा यहाँलाई अवगत भएकै हुनुपर्छ भन्ने ठानेका छौँ।’

स्वास्थ्य, शिक्षा, आफ्ना आफन्त भेटघाट लगायतका काममा जान आउन परिचय पत्रले चलिआएकोमा हाल आएर यसमा पनि भारतीय सुरक्षाकर्मीबाट बाधा अवरोध गर्ने काम भएको पत्रमा उल्लेख छ।

‘यस्तो अवस्था विद्यमान रही रहेको अवस्थामा हाम्रा शिविरको कामकाजका कागजातहरूमा समेत हामी भुटानी शरणार्थीहरूको शिविरलाई परिवर्तन गर्दै शिविर व्यवस्थापन समितिको सट्टा बस्ती व्यवस्थापन समिति शब्द राख्नाले हाम्रो पहिचान दिन प्रतिदिन हराउँदै जाने पो हो की भन्ने चिन्ताले हामीलाई सताइरहेको तर्फ पनि सम्माननीय ज्यूको ध्यान पुगोस् भनी नामकरण यथावत् राखी पाउन समेत विनम्र निवेदन गर्न चाहन्छौँ,’ध्यानाकर्षण पत्रमा लेखिएको छ,’साथै पूर्वी भारतीय नाका पानीटंकीमा हामीलाई यस अगाडी स्वास्थ्य, शिक्षा, आफन्त भेटघाट लगायतका काममा जान आउन हाम्रो परिचय पत्रले चलिआएकोमा हाल आएर यसमा पनि भारतीय सुरक्षाकर्मीबाट बाधा अवरोध गर्ने काम भएकाले हामीलाई धेरै कठिनाइ भएको छ।’

पत्रमा परराष्ट्र मन्त्रीलाई आवश्यक वार्ता छलफलको वातावरण बनाई दिनु हुन भनिएको छ। गृहमन्त्री, जिल्ला प्रशासन कार्यालय झापा र युएनएचसीआरलाई आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध पनि गरिएको छ।

सम्बन्धित समाचार :

भुटानी शासक निरङ्कुश : जेलमा कठोर याताना, रिहा पछि देश निकाला

भुटानी शरणार्थीहरूले गुहारे यूएनएचसीआर, स्वदेश फिर्ताका लागि हस्तक्षेप गर्न आग्रह

जेनेभामा भुटानी शरणार्थी समस्या समाधान गर्न आग्रह

भुटानी राजनीतिक बन्दी रिहाइको माग गर्दै अमेरिकामा प्रदर्शन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.