सुदूरपश्चिममा शाहलाई दोस्रो पटक मुख्यमन्त्रीको उपहार, कोशीमा काँग्रेसभित्रै कचिङ्गल

सुदूरपश्चिममा शाहलाई दोस्रो पटक मुख्यमन्त्रीको उपहार, कोशीमा काँग्रेसभित्रै कचिङ्गल

काठमाडौं : काँग्रेस र एमालेले भागबन्डा अनुसार प्रदेशहरूमा नयाँ सरकार गठन गरेका छन्। काँग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा मुख्यमन्त्री पाएको छ भने एमालेले कोशी, लुम्बिनी र कर्णालीको मुख्यमन्त्री लिएको छ। मधेस प्रदेशको मुख्यमन्त्री जनमत पार्टीले लिएको छ।

सुदूरपश्चिममा अघिल्लो गठबन्धनबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले शुक्रवार राजीनामा दिएकाले आइतबार मात्र नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा कमलबहादुर शाहले दोस्रो पटक मुख्यमन्त्री बन्ने अवसर पाएका छन्।

एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरे। केन्द्रमा बनेको नयाँ समीकरणअनुसार सुदूरपश्चिममा सरकार फेरिएको हो।

मन्त्रालयको भागबन्डा भने मिल्न बाँकी छ। केन्द्रमा समीकरण फेरिएपछि गत चैत २२ मा पदबाट राजीनामा दिएका शाहले अघिल्लो पटक १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।

चार मन्त्रीको शपथ

केन्द्रमा भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी भएको छ। केन्द्रमा माओवादी केन्द्र र एमालेको सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको काँग्रेस पाँच महिनामै फेरी सत्तामा पुगेको हो।

काँग्रेसका चार जना मन्त्री बनेका छन्। काँग्रेसका राजीवविक्रम शाह आर्थिक मामिला तथा योजना, घनश्याम भण्डारी सामाजिक, विजया बुढा जलस्रोत तथा ऊर्जा र सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भए।

नवनियुक्त मन्त्रीहरूले आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिए। कर्णालीको ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ काँग्रेसले पाएको छ।

काँग्रेसले पाएको चार मन्त्रालयमा चारै जना पुरुष मन्त्री बनेका छन्। काँग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने तयारी गरेका छन्।

कोशीमा कचिङ्गल

कोशी प्रदेशमा भने काँग्रेसभित्रको कचिङ्गलले मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ। काँग्रेस र एमालेबीच कोशी प्रदेश सरकारमा काँग्रेसले चार मन्त्रालय पाउने सहमति भएको छ। तर, काँग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा अन्योल भएको हो।

काँग्रेस पार्टी सभापति देउवा समूहबाट दुई, कोइराला समूहबाट १ र नेता कृष्णप्रसाद सिटौला समूहबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारीमा कोइराला समूहले असन्तुष्टि जनाएको छ। कोइराला समूहले २ मन्त्रालय पाउनु पर्ने अडान राख्दा हलो अड्केको स्रोतले बताएको छ।

काँग्रेसले सोमबारसम्म मन्त्रीको नाम टुङ्गो लगाउने बताएको छ। केन्द्रको समीकरण बदलिएसँगै कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिइसकेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.