शीर्ष नेताहरुको कामना : भविष्यमा यस्तो द्वन्द्व नहोस्

शीर्ष नेताहरुको कामना : भविष्यमा यस्तो द्वन्द्व नहोस्

'आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश'

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कार्यदलस्तरले गरेको सहमति तीन दलका शीर्ष नेताहरूलाई बुझाइएको छ। नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले कार्यदलस्तरमा भएको सहमतिको प्रतिवेदन बुझेका हुन्।

माओवादी सशस्त्र युद्धको समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप गर्न संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित काँग्रेसका रमेश लेखक, एमालेका महेश बर्तौला र माओवादीका जनार्दन शर्मा रहेको राजनीतिक कार्यदलले बल्ल बुधवार प्रतिवेदन बुझाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलमा भएको सहमति सहितको प्रतिवेदन बुझेका प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो।मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रूपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्विविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे। ‘हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रूपमा रहेका यी कार्यहरूलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ,’प्रधानमन्त्री ओलीले भने,’पीडादायी विगतबाट हामी गुज्रियौँ। देशमा हिंसात्मक द्वन्द्व भयो। देशलाई ठुलो क्षति भयो। सकारात्मक परिवर्तन पनि भयो तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो। हिंसाका सबै अभ्यासहरूलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरू रहन आवश्यक छैन।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर सहमति भएको बताए। ‘शान्ति प्रक्रियामा यो कोशेढुङ्गा साबित भएको छ। फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएका हुन्,प्रधानमन्त्री ओलीले भने,विधेयक पारितसँगै हामी आपसी परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्नेछौँ।’

उनले विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिबिहीनताको बाटो आवश्यक नभएको स्पष्ट पारे। उनले लोकतन्त्रलाई जीवनपद्धति मानेर चल्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको जनाउँदै लोकतन्त्रका लागि लडेकाहरू भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आफू अघि बढ्ने पनि बताए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछिको राम्रो कामका रूपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमतिको प्रयास गरिएको स्मरण गरे। उनले प्रतिवेदनलाई संसद्को वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश दिनुपर्ने बताए।

काँग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिई विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए। उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.