दुई सातामै अर्को हवाई दुर्घटना, हेलिकप्टरमा सवार सबैको मृत्यु

दुई सातामै अर्को हवाई दुर्घटना, हेलिकप्टरमा सवार सबैको मृत्यु

काठमाडौँ : काठमाडौँ विमानस्थलमा जहाज दुर्घटना भएको दुई सातामा अर्को हवाई दुर्घटना भएको छ। नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाइलट अरुण मल्लसहित सवार चार चिनियाँ नागरिक रहेका छन्। ज्यान गुमाउनेमा चिनियाँ नागरिकहरू ६७ वर्षीय जुदाड टाङ, ९१ वर्षीय जिली, ४१ वर्षीय यियाद वु र ६७ वर्षीय जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

एयर डाइनेस्टीको ९ एन–एजेडी कलसाइन हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। दिउँसो १ बजेर ५४ मिनेटमा भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ बजेर १४ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो।

सौर्य एयरको हेलचेक्र्याइँले १८ जनाको मृत्यु, जाँचबुझ आयोग गठन

हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। दुर्घटना लगत्तै खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो।

सबैको शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ।

आयोग गठन

सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न पनि आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

आयोगको सदस्यमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव (प्राविधिक) तनुजा पोखरेल छन्। आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाइलटसहित चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको मन्त्री गुरुङले बताए।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। नेपाली आकाशमा ४५ वर्षमा ४० वटा हेलिकप्टर दुर्घटना भएका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म भएका ४० दुर्घटनामध्ये २२ वटा दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.