बङ्गलादेश घटनाले नेपाल चिन्तित, हसिनालाई छटपटी

बङ्गलादेश घटनाले नेपाल चिन्तित, हसिनालाई छटपटी

काठमाडौं : बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना देश निकाला भएपछि नेपालका नेताहरूलाई पसिना आएको छ। बङ्गलादेशी विद्यार्थीहरूमा जस्तो बहालवाला प्रधानमन्त्रीलाई देश निकाला गर्ने अवस्था नरहे पनि तीन दशकदेखि आलोपालो सत्तामा पुगेका नेताहरूलाई काम गरेर देखाउन नसके लखेटिनु पर्ने चिन्ताले सताएको छ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर बङ्गलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ। ‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्वमा जोड दिन्छौँ,’विज्ञप्तिमा लेखिएको छ,‘हामीलाई विश्वास छ कि बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज सङ्क्रमण सुनिश्चित गर्न सक्षम हुनेछन्।’

बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको नेपालले जारी विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति अत्यन्त चिन्तित भएको उल्लेख गरेको छ।

देश छाडेर भारतमा शरण लिन पुगेकी हसिनालाई छटपटी सुरु भएको छ। भागेर ज्यान जोगाउन विदेश भागे पनि उनको सुरक्षामा चुनौती थपिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार लन्डनमा आश्रय नपाएपछि हसिना युएई, साउदी अरेबिया वा फिनल्यान्ड जान सक्ने अनुमान गरिएको छ।

बङ्गलादेशमा हसिनाको पार्टी अवामी लिग र उसका सहयोगी दलका करिब २९ नेताको हत्या भएको छ। बङ्गलादेशमा सुरक्षा कारण देखाउँदै भारतीय दूतावासका १९० कर्मचारीलाई त्यहाँबाट निकालिएको छ।

बङ्गलादेशको यो खालको राजनीतिक उथलपुथलले पटकपटक सत्ताका लागि मरिहत्ते गर्ने तर, जनतामा आशा भन्दा धेरै निराशा ल्याउने नेपाली नेताहरूलाई गम्भीर बनाएको छ। संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

तीन पटक प्रधानमन्त्री बनेर गत २८ असारमा मात्रै विश्वासका मत नपाउँदा सरकारबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमजोरी भएको स्वीकार गरेका छन्।

पहिलो पटक नयाँ सरकारको प्रशंसा गरेका प्रचण्डले पेरिसडाँडामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा कमी कमजोरी सच्याउन सके माओवादी पार्टी फेरी ०६४ कै अवस्थामा पुग्ने बताए।

माओवादी पार्टी फुटैफुटले सकिने अवस्थामा पुगेकोमा प्रचण्डले चिन्ता समेत व्यक्त गरे। सदाबहार माओवादीको अध्यक्ष रहेका प्रचण्डले चित्त नबुझेका नेता कार्यकर्तालाई पार्टीमा फर्कन अफर पनि दिएका छन्।

संसद्का दुई ठुला दल मिलेर सरकार बनाएको एक महिना नपुग्दै प्रचण्डले संसद्को यो कार्यकालमा प्रधानमन्त्री बन्न नपाउने देखेका छन्। ०८४ को चुनावमा बहुमत आइहाले प्रधानमन्त्री हुने नहुने त्यतिबेलै निर्णय गर्ने, तर यो कार्यकालमा भने प्रधानमन्त्री नबन्ने प्रचण्डले सुनाए।

प्रचण्डले आफू सरकार खोज्दै नगए पनि सरकार भने आफूलाई खोज्दै आउने अवस्था देखेको सुनाएर नेता कार्यकर्तालाई हँसाए। यसअघि आफूसँग जादुयी नम्बर रहेकाले प्रधानमन्त्रीबाट हटाउन कसैले पनि नसक्ने बताएका प्रचण्डले यो पटक आफूहरूलाई खोज्दै सरकार आउने स्थिति देखेको बताए।

बङ्गलादेशमा नयाँ अन्तरिम सरकार

राजनीतिक उथलपुथलका बीच बङ्गलादेशमा बिहीबार नयाँ अन्तरिम सरकार गठन हुने भएको छ। सेना प्रमुख वकार–उज–जमानका अनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको हो।

मोहम्मद युनुस अहिले पेरिसमा छन्। ओलम्पिकमा अतिथिका रूपमा सहभागी भएका उनी बिहीबार नै बङ्गलादेश फर्कने कार्यक्रम छ। उनको स्वागतमा दिउँसो तीनै सेना प्रमुखहरू विमानस्थलमा पुग्ने कार्यक्रम छ।

युनुसले बिहीबार नै अन्तरिम सरकारको शपथ ग्रहण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तरिम सरकारको पूर्ण नामावली भने सार्वजनिक भएको छैन।

देशको बिग्रँदै गएको शान्ति सुरक्षाको अवस्था बारे पत्रकारहरूले सोधेको प्रश्नमा सेना प्रमुख जमानले अहिले प्रहरी हडतालमा रहेकाले देशमा ठुलो सङ्कटको अवस्था आउन सक्ने बताए।

प्रहरीको काम सेनाले पूरा गर्न नसक्ने भएकाले छिट्टै प्रहरी पुनर्गठन हुने उनको भनाई थियो। देशका लागि प्रहरी ठुलो बल भएकाले निष्क्रिय हुन नहुने उनले बताए।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले प्रदर्शनकारीहरूलाई शान्त रहन र हिंसामा नमिल्न आग्रह गरेका छन्। युनुसले हसिना सरकार हटाइएकोमा स्वागत गर्दै उनको पतन बङ्गलादेशको दोस्रो स्वतन्त्रता जस्तै भएको टिप्पणी गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.