युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक : राष्ट्रपति

युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको उल्लेख गरे।

उनले भने,‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ।’

दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको उनले बताए। ‘हामीसँग यति धेरै प्राकृतिक सम्भावनाहरू छन्,तीनलाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौँतारिन पर्ने छैन,’उनले भने,’यसका लागि हाम्रा स्रोत र सम्भावना अनुरूपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो।’

राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै भने, ‘साहस, सृजनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ। तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ। परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतीक तथा विकास र परिवर्तनको संवाहकको रूपमा भूमिका निर्वाह गर्दै आएका छन्।’

उनले औपचारिक रूपमा युवाको सरोकार सम्बोधन गर्नका लागि २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गरे। नवौँ पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनाबद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको पनि स्मरण गर्दै उनले भने,‘२०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलोपटक युवा नीति २०६६ जारी गरियो र पछि राष्ट्रिय युवा नीति, २०७२ जारी भयो।’

राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताए। ‘यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति, सह–अस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ,’उनले भने।

राष्ट्रपति पौडेलले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको बताउँदै उम्दा जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रूपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसाङ्ख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.