मृत्यु भएका व्यक्तिको ‘औँठाछाप’ समेत किर्ते गरेर कम्पनी नामसारी

मृत्यु भएका व्यक्तिको ‘औँठाछाप’ समेत किर्ते गरेर कम्पनी नामसारी

काठमाडौं : ललितपुर गोदामचौरका रघुनाथ खड्काको नाममा रहेको कम्पनी निधन भएको चार वर्षपछि एकाघर बाहेकका व्यक्तिले नामसारी गरेको खुलेको छ। २५ भदौ २०७६ मा अल्का अस्पतालमा निधन भएका खड्काको हस्ताक्षर र औँठाछाप समेत किर्ते गरेर कम्पनी नामसारी भएको खुलेको हो।

किर्ते गरेर कम्पनी नामसारी गर्ने अनिताविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको छ। कम्पनी खड्का र अनिता घिमिरे समेतले ४० र ६० शेयर कायम गरी चलाउँदै आएका थिए। २५ भदौ २०७६ खड्काको मृत्यु भयो। छोरा रञ्जित खड्काले बुवाको मृत्यु पश्चात् पटक पटक मौखिक रूपमा शेयर नामसारी गर्न घिमिरेलाई आग्रह गरे।

रञ्जितले आफ्नो आग्रहलाई वास्ता नगर्ने र केही काम भएको छैन भनी बारम्बार भनेकोले कम्पनी रजिस्ट्रारको कार्यालयमा ललितपुर जिल्ला कुपण्डोलमा कार्यालय रहेको सत्कार सेक्युरिटी प्रा.लि.खोजी गरे। कहीँ कतै नभेटे पछि रञ्जितले कम्पनी रजिस्ट्रार कार्यालयमा गएर सोधखोज गरे।

अनिता घिमिरे चौरेलले किर्ते सही छाप, औँठा छाप प्रयोग गरी मृत्यु भएका खड्काको नामको २०८० साल भाद्र महिना २० गते लिखत तयार पारी सोही लिखतको प्रयोग गरी शेयर नामसारी गरेको रञ्जितले पाए।

खड्काले हस्ताक्षर गरेको भनेर लेखिएको लिखतमा ‘कसैको हक नलाग्ने कसैलाई कुनै ब्यहोराले केही गरी नदिएको मेरो एकलौटी हक भोगको र मेरो स्वामित्वको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता रहेको सत्कार सेक्युरिटी (प्रा.लि.) कम्पनीमा मेरो नाममा रहेको शेयर सी.नं.६०१ देखि १००० सम्म ४०० थान शेयरको प्रति शेयर १०० दरले हुन आउने जम्मा रकम ४०,००० (चालिस हजार मात्र) रकम नगदै बुझि लिएँ,मेरो नामको सम्पूर्ण शेयर विक्री गरी आजका मितिमा जिल्ला सुनसरी खनार बस्ने अनिता घिमिरेलाई आजैका मितिदेखि भोगचलन गर्न पाउने गरी यो विक्रीनामाको लिखत गरिदिएको छु। उक्त शेयर सो कम्पनीबाट आफ्नो नाममा नामसारी गराई भोगचलन गर्नुहोला। कथंकदाचित उक्त शेयर तपाईँको नाममा नामसारी हुन नसके वा कुनै कारणवश कच्चा ठहरे मैले बुझिलिएको रकम प्रचलित कानुन बमोजिम घरघराना जायजेथाबाट असुलउपर गरी लिनुहोला भनी मेरो मनोमान खुसी राजीसँग कम्पनीको रजिस्टर्ड कार्यालयमा बसी यो लिखत गरिदिए।’

कम्पनी रजिस्ट्रारको कार्यालयमा अनिताले मृत्यु भई सकेपछि खड्काको नामको शेयर आफ्नो नाममा नामसारी गरी ठगी गरेको दाबी गर्दै रञ्जित ललितपुर जिल्ला अदालत मुद्दा दायर गरेका हुन्।

अदालतले सत्कार सेक्युरिटी प्रा.लि. को शेयर मृत्यु पश्चात् नामसारी भएको देखिएको समेतबाट निज अहिले नै निर्दोष हुन भन्ने विश्वसनीय आधार नदेखिएको ठहर गर्‍यो। तर, पनि थुनामा नै राख्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै अदालतले अनितालाई १,००,०००।– (एक लाख) रुपैयाँ नगद धरौटी, बैङ्क ग्यारेन्टी वा सो बराबरको जेथा जमानत लिई तारेखमा राख्न आदेश दिएको छ। मुद्दाको पूर्ण सुनुवाइ भने हुन बाँकी छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.