ग्लोबल आइएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

ग्लोबल आइएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

132
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैङ्कको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ। राष्ट्रिय वाणिज्य बैङ्कबाट बैंकिङ्ग करिअर सुरु गरेका रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैङ्कमा प्रवेश गरेका हुन्।

ग्लोबल आइएमई बैङ्कमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रूपमा परिचित छन्। उनीसँग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव छ।

नवनियुक्त रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबिए गरेका छन्।

शपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैङ्कका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैङ्क थप सबल र सुदृढ हुने विश्वास व्यक्त गरे। उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैङ्कको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताए।

‘रेग्मी ग्लोबल आइएमई बैङ्कको सुरुदेखि नै यस बैङ्कमा हुनुहुन्छ। लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो। उहाँले यस ग्लोबल आइएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही यस बैङ्कका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयर होण्डरहरुलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,’ढकालले भने।

पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठुलो र प्रतिष्ठित बैङ्कको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए।

उनले आफ्नो कार्यकालमा बैङ्कको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैङ्कको सम्मानजनक उपस्थितिलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले ग्लोबल आइएमई बैङ्कको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने बताए।

समाचार शेयर गर्नुहोस्
132
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.