“भ्रष्टहरूको भ्रष्टाचारविरोधी नाटक”

“भ्रष्टहरूको भ्रष्टाचारविरोधी नाटक”

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समाजमा भ्रष्टहरूले नै भ्रष्टाचारविरोधी नाटक गरेको बताएका छन्। उनले भ्रष्टाचारविरोधी नाटक गरेर जनता अलमलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन आग्रह गरे।

सरकार र देशलाई असफल पार्ने प्रयास हुन सक्ने प्रधानमन्त्री ओलीले शङ्का व्यक्त गरे। ‘देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भनेर वितण्डा मच्चाउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन्। तपाईँहरूले यस तर्फ पनि सचेत भएर लाग्नुपर्छ। समाजमा योगदान नगरेकाहरूलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरूलाई गाली गर्ने काम भइरहेको छ,’उनले भने,’म तपाईँहरूलाई भन्न चाहन्छु, अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि र सुशासन कायमका लागि बनेको हो। यसमा हामी शून्य सहनशीलता अपनाउँछौँ। अनुहार र मुख हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन। सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ।’

जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई आग्रह गरे। नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अनेक प्रकारका शक्तिहरूले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिए।

उनले जनताको शासनका रूपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्‍याउने पनि बताए। ‘यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ। यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो,’प्रधानमन्त्री ओलीले भने,’हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन। खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन। यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ। कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन। यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ। यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने काम हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसका सबै विधालाई जीवनशैलीका रूपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न खेलाडीहरूलाई आग्रह गरे। बालबालिकादेखि बुढाबुढीसम्मलाई आफ्नो क्षमता र रुचिअनुसार खेल एक जीवनको अङ्ग भएकाले खेललाई व्यापकीकरण र सामाजिकीकरण गर्न आग्रह पनि उनले आग्रह गरे।

खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने बताउँदै उनले सबै पेसा व्यवसायका मानिसका लागि खाना, काम, व्यायाम र व्यायामको प्रबन्ध नभए जीवन कुँजो हुने उल्लेख गरे। ‘नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ? हामीले रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौँ। ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौँ। अब जित्नुपर्छ। उत्कृष्ट र प्रतिस्पर्धीरुपमा खेलेमा हामीलाई जीतका लागि केहीले पनि रोक्दैन,’उनले भने,’सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्नेछ। कीर्तिपुरको रङ्गशालालाई स्तरोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण हो।’

प्रधानमन्त्री ओलीले देशको स्वाधीनता, लोकतन्त्र, विधि र सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय झन्डालाई माथि उठाउनका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.