नक्कली भुटानी शरणार्थी : बेचनको अनभिज्ञताले उच्चपदस्थहरूलाई हाइसन्चो

नक्कली भुटानी शरणार्थी : बेचनको अनभिज्ञताले उच्चपदस्थहरूलाई हाइसन्चो

परराष्ट्रमन्त्री आरजुले भोलि भारतीय प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका बेचन झा कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

प्रहरी प्रतिवेदन अनुसार सरकारी वकिलले झाविरुद्ध चार वटा कसुरमा मुद्दा दायर गरेको छ। उनीविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको कसुरमा मुद्दा चलेको छ। यद्यपि उनले आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका छन्।

उनी पक्राउ पर्दा उनको बयानका आधारमा उच्चपदस्थहरूसमेत पक्राउ पर्न सक्ने आशङ्का गरिएको थियो। झासँग करोडौँको बार्गेनिङ गरेको अडिओसमेत बाहिरिएपछि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवासमेत अनुसन्धानमा तानिने चर्चा थियो।

नक्कली भुटानी शरणार्थी : फरार तीन जनाको जवाफ आउनै बाँकी

सोहीकारण पटक पटक बहाना बनाउँदै बयान दिन नमानेका झाले काँग्रेस एमाले मिलीजुली सरकार बनेपछि मात्रै सरकारी वकिल समक्ष बयान दिएका हुन्। बयानका क्रममा उनले नक्कली शरणार्थी प्रकरणबारे अनभिज्ञता जनाएपछि परराष्ट्रमन्त्री आरजुलाई ढुक्क भएको छ।

यसअघि शरणार्थी प्रकरणमा पहिलो चरणको अनुसन्धानका क्रममा ठेगाना नखुलेका कारण पक्राउ नपरेका झासँग भारतीय नागरिकतासमेत रहेको दाबी गरिएको छ। उनको नेपाली ठेगाना भने पर्साको वीरगन्ज उपमहानगरपालिका–७ छ। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुनधारा पठाइएको छ।

परराष्ट्रमन्त्रीले मोदीसँग भेट्ने

एउटै अपराधमा नाम मुछिएका झा कारागार पुग्दा परराष्ट्रमन्त्री राणा भने औपचारिक भ्रमणका क्रममा आइतबार दक्षिणी छिमेकी मुलुक भारत पुगेकी छन्।

परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलो विदेश यात्राका क्रममा भारत पुगेकी देउवाले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत पुगेकी मन्त्री राणाले समकक्षी एस जयशंकरसँगै प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसंग पनि भेट गर्ने कार्यक्रम छ। यद्यपि राष्ट्रपतिसँगको भेटका विषयमा भने टुङ्गो नलागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पराराष्ट्रमन्त्री राणाको भारत भ्रमणमा द्धिपक्षिय हित र नेपाल भारत सम्बन्धबारे छलफल हुने मन्त्रालयका प्रवक्ता अमृत राईले बताए। भ्रमणमा कुनै सम्झौताको तयारी भने नभएको उनले बताए।

दिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अनुराग श्रीवास्तवले स्वागत गरे। मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले साँझ नेपाली दूतावासमा रात्रि भोज आयोजना गरे।

यो पनि : ‘नक्कली भुटानी शरणार्थी बनाइने प्रपञ्चले सक्कलीको जीवन कष्टप्रद’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.