महानगरसँग बचत फिर्ताको गुनासो, विवरण नबुझाउनेको अनुगमन गरिहाल्ने

महानगरसँग बचत फिर्ताको गुनासो, विवरण नबुझाउनेको अनुगमन गरिहाल्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थासँग विवरण माग गरेको छ। महानगरपालिका भित्र सञ्चालनमा रहेका सबै सहकारी संस्थालाई विवरण उपलब्ध गराउन महानगरपालिकाले भनेको छ।

सहकारी ऐन २०७४ को दफा (५२) बमोजिम आर्थिक वर्ष २०८० ०८१ समाप्त भएको तीन महिना भित्र दर्ता गर्ने अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था भए अनुसार महानगरपालिकाका क्षेत्राधिकारमा रहेको सम्पूर्ण सहकारी संस्थालाई अद्यावधिक विवरण पेस गर्न महानगरपालिकाले अनुरोध गरेको छ।

सहकारी संस्थाहरूले कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना महानगरपालिकामा बुझाउनु पर्नेछ।

सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, सेयर सदस्य सङ्ख्या र सेयर पुँजी, कुल बचत तथा कर्जाको विवरण, सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताहरूको विवरण माग गरिएको सहकारी विभागका विभागीय प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए।

सहकारीको रकम अपचलन : रविसँग भदौ ७ गते बयान

देशैभरका सहकारी संस्थाका विषयमा आमधारणा नकारात्मक बनेको छ। ‘सहकारीहरू ठग मात्रै हुन्,ठगेर मात्रै हिँड्छन् भन्ने धारणा गाडिएर बस्यो,’काफ्लेले पहिचानसँग भने,’त्यसलाई चिर्नका लागि काठमाडौं महानगरपालिकाले विवरण माग गरेको हो।’

सहकारीको सिद्धान्त, मूल्य मान्यता र धारणा बमोजिम चल्ने र सहकारीको सिद्धान्तभन्दा बाहिर गएर चलेका सहकारी छान्न खोजेको उनले बताए। उनका अनुसार बचत फिर्ता माग गर्ने ठुलो गुनासो सहकारी विभागमा आएको छ।

विवरण बुझाउनेहरूको कुनै त्रुटि भेटिएमा अनुगमन गर्ने महानगरपालिकाले जनाएको छ। विवरण नबुझाउने सहकारीको सबैभन्दा सुरुमा अनुगमन गर्ने विभागीय प्रमुख काफ्लेले बताए।

काफ्लेसँगको कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.