सहकारीमा रवि संलग्न रहेको क्लु फेला परेको दाबी

सहकारीमा रवि संलग्न रहेको क्लु फेला परेको दाबी

काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुरानै दलको रोगले गाँजेको छ। भ्रष्टाचारविरुद्ध आगो ओकल्दै आएको रास्वपा सभापति रवि लामिछाने आफैँ सहकारीको रकम अपचलनमा मुछिएर बयान दिनु पर्ने अवस्थामा पुगेका छन्।

भ्रष्टाचारमा पाँच वर्षे हदम्यादको चौतर्फी भइरहेको विरोधको बोलीमा लामिछानेले पनि लोली मिलाउन थालेका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको भ्रष्टाचार सम्बन्धी विधेयकमा पाँच वर्षे हदम्यादको व्यवस्था छ।

बहुदलीय व्यवस्थापछि आलोपालो सत्तामा रहेका काँग्रेस र एमालेले आफू जोगिन हदम्यादको व्यवस्था राखेको आरोप लागेको छ। भ्रष्टाचारजन्य कसुरको हदम्यादमा गर्न लागिएको संशोधन विरुद्ध बृहत् नागरिक आन्दोलनले शनिवार माइतीघरदेखि बानेश्वरसम्म मार्चपास नै गरेको छ।

बृहत् नागरिक आन्दोलनले बानेश्वरदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि तनावको स्थित बनेको थियो। पाँच वर्षे हदम्याद राखेर पुराना दलका नेता उम्कने र आफूलाई सहकारीको रकम अपचलनमा जेल कोच्ने आशङ्का गरेका रास्वपा सभापति लामिछानेले जनता गुहारेका छन्।

राति १ बजेसम्म संसदीय सुनुवाइ समिति समक्ष बयान दिएर चितवन पुगेका लामिछानेले ऋण लिएको प्रमाण छ भनेर कुर्लने नेताले आफुविरुद्ध प्रमाण दिन नसकेको बताए।

लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाण फेला परे कानुनी कारबाही भोग्नु पर्ने हुन्छ। तर, उनी भने प्रमाण फेला परे राजनीति छाड्ने बताइरहेका छन्।

लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको दाबी समेत गरे। तर, समितिले भने लामिछाने संलग्न भएको क्लु फेला पारेको दाबी गरेको छ।

१० घण्टा लामो बयान लिएको समितिले लामिछानेको कुरा पत्यारलाग्दो नभएको बताएको छ। समितिका सदस्य ध्रुवबहादुर प्रधानले लामिछानेले चलाएको कम्पनीमा सहकारीको रकम गएको पुष्टि भएको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.