दोरम्बामा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, एक बालकको जीवितै उद्धार

दोरम्बामा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, एक बालकको जीवितै उद्धार

काठमाडौं : रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता भएका छन्। एक बालकको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

राति १ बजेतिर वडा नम्बर ३ लेखर्कस्थित पहरी गाउँका ४ घर पहिरोले बगाएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन।

गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरका अनुसार बेपत्ताहरूको खोजी भइरहेको छ। वडा नम्बर ३ मै पर्ने टोकरपुरस्थित अँधेरी खोलाको पुल समेत बढिले बगाएको छ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट तीन यात्रुसहित सुनकोसी नदीमा खसेको गाडी भेटिएको छ। गाडी भेटिए पनि त्यसमा सवार यात्रु बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। गोताखोरको टोलीले गाडी भेटेको तर यात्रुको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटबाट गएको गोताखोरको टोलीले खोजी गरिरहेको छ। शनिवार बेलुकी खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा खसेको थियो।

प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्। गाडिबाट हामफालेका सुशान्त कक्षपति घाइते छन्।

बस दुर्घटनामा १० जना घाइते

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आइतबार बिहान घुमाउने भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सडक किनारमा लगाइएको बारले छेक्दा बस त्रिशूली नदीमा खस्नबाट जोगिएको थियो। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ।

२७ जनाको शव भारत लगियो

तनहुँको आँबुखैरनी दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव भारत पठाइएको छ। चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टम सकेर २५ जनाको शव भारतीय सेनाको विमानमार्फत महाराष्ट्र पठाइएको हो।

भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानमार्फत २५ वटा तथा चालक र सहचालकको शव एम्बुलेन्समार्फत गोरखपुर पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

दुर्घटनाका घाइतेलाई भेट्न काठमाडौं आएकी भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि त्यही विमानमार्फत स्वदेश फर्किएकी छन्।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रवार तनहुँ आबुखैरेनीस्थित ऐनापहरामा दुर्घटना हुँदा २७ भारतीयको मृत्यु भएको थियो। दुर्घटनामा घाइते १६ जनाको काठमाडौँमा उपचार भइरहेको छ। बस दुर्घटनाको कारण अझै खुलिसकेको छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.