टुँडिखेलमा लाग्यो ‘देश छोड’को नारा : रिसाए ओली, जङ्गिए देउवा

टुँडिखेलमा लाग्यो ‘देश छोड’को नारा : रिसाए ओली, जङ्गिए देउवा

काठमाडौं : सरकार र राजनीतिक दलका नेताहरूविरुद्ध सार्वजनिक कार्यक्रममै आक्रोश व्यक्त भएको छ। काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा सरकारका प्रधानमन्त्री र नेताहरू विरुद्ध नाराबाजी नै भएको छ।

प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि सत्ता साझेदार नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुवैले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा दर्शकदीर्घाबाट…चोर, देश छोड’ …पाराले, दुःख पाए साराले’ नारा लागेको हो।

अर्को कार्यक्रममा जानुपर्ने भन्दै पहिला बोलेर प्रधानमन्त्री ओली निस्किए। ओलीले मन्तव्य सुरु गरे लगत्तै कार्यक्रममा उपस्थित दर्शकले नाराबाजी र होहल्ला सुरु गरे। ओलीले छोटो मन्तव्य राखे, तर आक्रोशित भीडप्रति असन्तुष्टि जनाए। नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने ओलीले झटारो हाने।

सधैंजसो निकै लामो भाषण दिने प्रधानमन्त्री ओलीले सोमबार होहल्ला र नाराबाजीका कारण कार्यक्रममा लामो बोलेनन्। कार्यक्रममा काँग्रेस सभापति देउवा बोल्ने बेलामा पनि भीडले नाराबाजी गर्न छोडेनन्। मञ्चमा आउने बित्तिकै होहल्ला र नाराबाजी सुरु भएपछि देउवा कार्यक्रम बिथोल्ने ‘लाज नभएकाहरू’ भनेर जङ्गिए।

अरूको कार्यक्रम बिथोल्नेहरूलाई जनताले ठिक पार्नुपर्ने देउवाको भनाई थियो। नेताहरूले बोलिरहँदा पर्व मनाउने भीडले भने नाराबाजी र होहल्ला गरिरहेका थिए। भिडले आफूहरूलाई नेताहरू नचाहिने भन्दै मुर्दावादको नारा लगाए। नाराबाजीकै बीच नेताहरूले भने देउडा गाउँदै पर्व मनाए।

वर्तमान सरकार बनेको एक महिना मात्रै पुगेको छ। संसद्का दुई ठुला दल मिलेर सरकार चलाएका छन्। हालसम्म न्यूनतम साझा कार्यक्रम समेत सार्वजनिक गर्न नसकेको सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री भने भवन र पार्क उद्ध्घाटनमा रमाइरहेका छन्।

सोमबार प्रधानमन्त्री ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गरे भने सरकारमा काँग्रेसबाट नेतृत्व गरेका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका वडा नं ११ मा निर्मित मङ्गलादेवी सिंह ज्येष्ठ नागरिक पार्क उद्घाटन गरे।

प्रहरी परिसरको भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलेको सरकारले घुस नखाने दाल भात खाने बताए। यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामु प्रतिबद्धता जनाएका ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाए।

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली महिला आन्दोलनकी नेतृ मङ्गलादेवी सिंहको नाममा निर्माण भएको ज्येष्ठ नागरिक पार्क उद्घाटन गर्दै भएन, भएन भन्नु भन्दा आफ्नो दायित्व पुरा गर्नुपर्ने उपदेश दिए।

तीन दशकदेखि जनतालाई अर्ति उपदेश र आश्वासन दिँदैमा नेताहरूको समय बितेको छ। सरकारको बजेट आवश्यकता एकातिर खर्च अर्कोतिर भइरहेको उदाहरणमा सोमबार उद्घाटन भएको भवन र पार्क थप भएका छन्। राज्यको ढुकुटी ठुलठुला सरकारी भवन निर्माणमा खर्च भइरहेको छ।

नयाँ उद्योग कलकारखाना निर्माण गरेर विदेश जाने युवालाई रोक्न अक्षम बनेका सरकारका प्रधानमन्त्री, मन्त्रीहरू अब जनताको आक्रोशमा पर्ने टुँडिखेलको गौरा पर्वमा भएको नाराबाजीले सङ्केत दिएको छ। यसलाई कतिपयले सरकार र नेताहरूको ओरालो यात्राका रूपमा समेत टिप्पणी गरेका छन्।

सहकारीको बचत फिर्ता नपाउँदा तनाव, अर्का एक जनाको मृत्यु

सरकारमा सहभागी हुनु भनेको जनताको सेवा गर्न भन्दा पनि आपराधिक कार्यबाट जोगिनु रहेको देखिएको छ। सहकारीको बचत रकम ठगी गरेर नेता बन्ने, पाए मन्त्री, उपप्रधानमन्त्रीसम्म पड्काउनेहरूले सहकारी बचतकर्ताको रकम फिर्ता गराउन सकेका छैनन्।

आन्दोलनमा होमिएपछि वार्ता गर्ने र सहमति गरेर थमथमाउँदै आएका सरकारसँग यो पटक सहकारी पीडितहरू औधी रिसाएका छन्। सहकारी बचत कर्ता राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष कुशलब केसीले भदौ १६ गते सिंहदरबार घेराउ गर्ने चेतावनी नै दिए।

अभियानका सदस्य सहनाथ सापकोटाले अब बचत फिर्ताका लागि राजनीतिक दलसँग रोएर उपाय ननिस्कने बताउँदै आन्दोलनमा होमिन आह्वान गरे।

अभियन्ता हेम शङ्कर गिरीले सत्ताको भर्‍याङका निम्ति सदनमा कुर्लिनेहरू अहिले सत्ता पाएपछि गुमनाम बसेको भन्दै आक्रोश पोखे।

एक जनाको हत्या, दुई जनाको मृत फेला

वर्तमान सरकार देशमा शान्ति सुरक्षा कायम गर्न पनि असफल देखिएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं र मकवानपुरमा तीन जनाको हत्या भएको छ। काठमाडौं महानगरपालिका ३१ शंखमुलस्थित स्नुकर हाउसका सञ्चालक ४० वर्षका रूपक बान्तवाको राति हत्या भएको हो।

आफ्नै स्नुकर हाउसमा उनीमाथि आक्रमण भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। एक महिलाले घटनाबारे टेलिफोनमार्फत जानकारी गराएपछि घटनास्थलमा पुगेको प्रहरी अनुसन्धान अधिकारीहरूले बान्तवामाथि धारिलो हतियार तथा फलामजन्य वस्तुबाट आक्रमण भएको जस्तो देखिएको बताएका छन्।

प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहे पनि संलग्नता पुष्टि नभएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घटनाको जिल्ला प्रहरी परिसरसहित अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान गरिरहेको जनाएको छ।

मकवानपुरको हेटौँडामा एक वृद्धा आफ्नै घरमा र एक युवती होटेलमा मृत अवस्थामा फेला परेका छन्। हेटौँडा पाथीभरा मन्दिर नजिकैकी ७१ वर्षीया ठूलीमाया विश्वकर्मा आफ्नै घरभित्र दुवै कानबाट रगत बगेको र मृत अवस्थामा फेला परेकी मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन।

नातिसँगै बस्दै आएकी विश्वकर्माको हत्या भएको आशङ्कामा नाति २८ वर्षका प्रवीणलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा उनको संलग्नता भने खुलिसकेको छैन।

हेटौँडा थानाभर्‍याङकी २२ वर्षीया एलिसा न्यौपाने भने बसपार्कस्थित रत्ना होटेलको कोठामा मृत अवस्थामा फेला परेकी छन्। आइतबार साँझ बास बस्न होटेल पुगेकी उनी सोमबार दिउँसो अबेरसम्म बाहिर ननिस्किएपछि घटना बाहिरिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा न्यौपानेसँगै होटेलमा पुगेका एक पुरुष भने राती ९ बजेतिर होटेलबाट निस्किएको खुल्न आएको छ। उनको पहिचान खुलेको छैन भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.