सिनियरलाई उछिन्दै मुख्यसचिवमा अर्याल, पहिलो महिला मुख्यसचिव गडतौला बाहिरिँदै

सिनियरलाई उछिन्दै मुख्यसचिवमा अर्याल, पहिलो महिला मुख्यसचिव गडतौला बाहिरिँदै

काठमाडौं : गृह सचिव एकनारायण अर्याल मुख्यसचिव बन्ने भएका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मुख्यसचिवमा अर्याललाई नियुक्ति गर्ने निर्णय गरेको हो।

बरीयतामा चौथो नम्बरमा रहेका अर्याललाई देशको २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका कारण अर्याल आफूभन्दा सिनियर राष्ट्रिय योजना आयोगका सचिव डा.तोयनारायण ज्ञवाली, दोस्रो नम्बरका खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र महिला मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उछिन्दै मुख्यसचिव बन्ने भएका हुन्।

देशको प्रशासनिक बागडोर सम्हालेकी पहिलो महिला मुख्यसचिव लीलादेवी गडतौला उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन्। एक महिना अघि मुख्य सचिव नियुक्त उनको ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुन लागेको हो।

नेपालको निजामती प्रशासनमा पहिलो महिला कमान्डर बनेकी उनले ५८ वर्षे उमेर हदका कारण जिम्मेवारी भने धेरै समय सम्हाल्न पाइनन्। निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमान्ड सम्हालेपछि उनी २७ औ र पहिलो महिलाको रूपमा यो तहमा पुगेकी हुन्।

मुख्य सचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा पर्दा उनलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

काँग्रेस एमालेको समर्थनमा बनेको केपी ओली नेतृत्वको सरकारले उनलाई गत साउन १० गते मात्र मुख्यसचिवमा नियुक्त गरेको थियो।

तेह्रथुमको पिप्ले (हाल म्याङ्लुङ–४) मा २०२३ भदौ १५ गते जन्मिएकी गडतौला २०५२ पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन।

२०६३ कात्तिकमा उपसचिव हुँदै २०७० माघमा सहसचिव बनेकी उनी २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भएकी थिइन।

२०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्य सचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बनेकी गडतौलाले साउन १० गते मुख्य सचिवमा नियुक्त पाएकी थिइन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.